पोखरामा बढ्न थाल्याे आन्तरिक पर्यटकको चहलपहल

काठमाडाैं । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भिडभाड हुन थालेको छ ।
अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन् ।
सधै विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा कोरोना संक्रमण कम भएसँगै लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पर्यटन व्यवसायी सोम थापा बताउँछन् ।
आन्तरिक पर्यटकको उपस्थिति बाक्लिन थालेपनि आर्थिक गतिविधिलाई अझै चलायमान बनाउनका लागि विदेशी पर्यटकको गतिविधि पनि बढ्नुपर्ने व्यवसायी थापाको भनाइ छ ।
पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो देखिएको छ । पोखरा आउने अधिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मार्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पदमार्गका लागी निस्किने गरेका छन् ।
मोटरेबल बाटोले प्रसिद्ध पदमार्गहरु विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गए पनि ती क्षेत्रमा आन्तरीक पर्यटको भिड बढेको हो । पोखराको सुन्दर दृश्य हेर्नका लागि आफुहरु टाढा टाढादेखि पोखरामा आएको पर्यटकहरु बताउँछन् ।
पोखरामा हाल निजी क्षेत्रको ५ अर्ब रुपैयाँ बढीको पर्यटन क्षेत्रमा लगानी रहेको छ । करिव सात सय पर्यटकीय होटेल सञ्चालनमा छन् ।
कोरोनाका कारण सबै होटेल भने खुलिसकेका छैनन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही समय लाग्ने भएपनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको भए पनि अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गर्छन् ।
पोखरामा आन्तरिक पर्यटक आउँदा यसले पर्यटन क्षेत्रलाई राहत दिएको उनको भनाइ छ । हालै पोखरामा भएको ११ देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको उनले बताए ।
पर्यटन बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बढीभन्दा बढी आन्तरिक पर्यटकहरुलाई भित्राउने खालका कार्यक्रमहरु गरेको उनले बताए। पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर ,प्याराग्लाइडिङ लगायतका साहसिक खेलमा भिडभाड बढेको छ ।
प्रतिक्रिया