तनहुँका दुई पालिकामा कोरोना संक्रमित शून्य

तनहुँ । तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना संक्रमित शून्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना संक्रमणमुक्त गाउँपालिका भएको हो ।
देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक संक्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिए । भानुमा पाँच, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दिपुरमा एक सक्रिय संक्रमित छन् । सबै संक्रमित होम आइसोलेसनमा छन् ।
जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच हजार दुई सय चार जना निको भएका छन् । यसक्रममा एक सय २४ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया