मंगलबार, वैशाख १६, २०८२

आज कमला नदीमा अनौठो भूत मेला हुँदै

नेपालखोज २०७८ मंसिर ३ गते ११:०२

जनकपुर । धनुषा र सिरहाको सिमानामा आज (शुक्रबार) भूत मेला लाग्दैछ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास छ । आज बिहानैदेखि भूत मेला भर्न नदीमा श्रद्धालुको घुइँचो लागेको छ ।

कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो भूत मेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी,समस्तीपुर तथा जयनगर, दरभंगा लगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् ।

दैवी तथा तन्त्रशक्ति प्राप्त हुने विश्वासका साथ भजनकिर्तन गर्दै स्नान गर्न गाउँघरबाट आज बिहानैदेखि भक्तजन कमला नदीको तटमा पुगेका छन् । कतिपयले कातिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहीबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका छन् ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको संख्या बढ्दै गएको स्थानीय भरत साह बताउँछन् । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

यस नदीमा धामी बन्न चाचहने पनि जाने गर्छन् । मूल धामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ ।

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउने गर्छन् । उनीहरू आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आउने गर्छन् ।

तराई–मधेसमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ । पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाँक्रीसँग आशीष थाप्ने श्रद्धालुको संख्या पनि उल्लेखनीय रहने गरेको छ ।

प्रतिक्रिया