मंगलबार, वैशाख १६, २०८२

लोप हुने खतरामा राउटे समुदाय !

नेपालखोज २०७८ मंसिर ७ गते १०:१४


काठमाडौं । नेपालमा राउटे समुदायको अस्तित्व संकटमा पर्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । गएको एक वर्षमा ६ बालबालिकासहित १७ जना राउटेको अकालमा मृत्यु भएपछि सरोकारवालाले उनीहरूको स्वास्थ्यप्रति चिन्ता जनाएका हुन् ।

राउटे जातिको सम्बन्धमा अध्यययन गर्दै आएको संस्था सामाजिक विकास सेवा केन्द्र (सोसेक) अनुसार अत्यधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही र कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको हो ।

चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका सोसेकमा आबद्ध लालबहादुर खत्रीका अनुसार २०७७ असारदेखि २०७८ असारसम्म जन्मिएका नौमध्ये छजना शिशुको छ महिनाको उमेरभित्रै मृत्यु भएको छ ।

भर्खरै जन्मिएको शिशुलाई दिनभरि घरमा छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बालबालिकाको स्वास्थ्यमा असर पुगेको जनाइएको छ । राउटे समुदायका गतिविधिलाई लामो समयदेखि प्रत्यक्ष नजिकबाट नियाल्दै आएका खत्री भन्छन्, ‘मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरा छ ।’

एक वर्षको अवधिमा अत्यधिक मदिरा पिएर, भिरबाट लडेर र दीर्घ रोगका कारण अरू ११ जना राउटेले पनि ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ ।

राउटे समुदायका अगुवाहरूले पनि अत्यधिक मदिरा पिउने बानीका कारण आफ्नो समुदाय नासिने हो कि भन्ने चिन्ता जनाउन थालेका छन् । अरू समुदायका मानिसले खाएको देखेर आफ्नो समुदायका मानिसले पनि मदिरा पिउन सिकेको राउटे मुखियाहरूले दाबी गरेका छन् ।

–बीबीसी

प्रतिक्रिया