बुधबार, वैशाख १७, २०८२

‘काठमाडौँ विश्वविद्यालयले शैक्षिक क्षेत्रमा ठूलो गुन लगायो’

नेपालखोज २०७८ मंसिर २९ गते १४:२२


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शुभकामना सन्देशमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि विश्वविद्यालयले सम्बोधन गर्न सार्थक र सफल भएको जनाएका छन् ।

उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनी विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौँ रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भएको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले विश्वविद्यालयले विभिन्न क्षेत्रका लागि जनशक्ति उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको जनाएका छन् ।

प्रतिक्रिया