‘युट्युबलाई गुरु थापेर बाँसुरी बनाउन सिकें’

डीबी याम्पु राई संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएका छन् । उनले ९ वर्षको उमेरदेखि मुरली हुँदै बाँसुरी बजाउन सिकेका हुन् । आफ्नो वरिपरि बाँसुरी बजाउने धेरै हुँदा उनको बाँसुरीतिरै मन गयो । राईलाई बाँसुरी बजाउने शोख त छँदै छ, पछिल्लो समय आफैं बनाएर आयआर्जनको माध्यम पनि बनाएका छन् । बाँसुरी बजाउन र बनाउन प्रेरणा आउनुको कारण,नेपालमा बाँसुरीको महत्त्वलगायत विषयमा राईसँग नेपालखोजका लागि केशव भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत छ राईसँगको भिडियो वार्ता :
-सानामा एउटा बाँसुरी कसैले बजाएको देखे धेरै खुसी हुने मान्छे हुँ, अझै ल्याइदिए त धेरै नै खुसी हुन्थे । आफ्नै किसिमले बजाउँदै आएँ, बीचमा बनाउन पनि मन लाग्यो । बनाएर बेच्दै दुईचार रुपैयाँ कमाउँदै पनि छु ।
-मैले ९ वर्षको उमेरदेखि संखुवासभामा मुरली बजाउन सिके, विस्तारै बाँसुरीमा रुचि हुँदै गएको हो । म बाँसुरी बनाएर बेच्छु पनि । ६ सय रुपैयाँसम्ममा बेच्ने गरेको छु ।
-मेलापात जाँदा, गाईवस्तु चराउँदा सानैदेखि बाँसुरी बजाइन्थ्यो । सिनियर दाइहरू हुन्थे । उनीहरूसँग सिक्दै बजाउन जानेको हो ।
-मलाई पूर्वका गीत मात्रै आउँछ, पश्चिमका गीत आउँदैन । आदरणीय दाजु एवं गुरु शम्भु राईले गाएको,बजाएको सुनेर अझ आकर्षित हुन्थें ।
-मलाई नारायण गोपालको गीत मन पर्छ र बाँसुरीमा पनि त्यही गीतको धून निकाल्छु । गीतको आरोह–अवरोहमा धुन बजाउनुपर्छ । बाँसुरी तरिका पुर्याएर फुकेर बजाउने साधन हो ।
-बाँसुरी सांस्कृतिक बाजा हो । यो मालिंगोबाट बनाउने गरिन्छ । मालिंगो सबै ठाउँमा नभएकाले माग गरेअनुसार बनाउन सकिँदैन ।
-गाई गोठालो गर्दा, घाँसपात गर्दा सिनियरबाट बजाउन सिकेँ । पछि आएर बनाउने रुचि जागेको हो । बनाउन पनि अग्रजसँग भेटघाट गरेर सिकेको हुँ । विशेष गरी मलाई बाँसुरी बनाउने सिकाउने मेरो गुरु युट्युब हो । युट्युबमा भनेर अनुसारले बाँसुरी बनाउन सिकेको हुँ ।
प्रतिक्रिया