मंगलबार, वैशाख १६, २०८२

बैंकमा तलबी खाता हुनेलाई अनलाइनमार्फत ५ लाख रुपैयाँसम्म कर्जा

नेपालखोज २०७८ माघ २९ गते १८:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युुतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । सबै किसिमका बैंक तथा वित्तीय संस्थाको नाउँमा राष्ट्र बैंकले यस्तो मार्गदर्शन जारी गरेको हो ।

यो मार्गदर्शन अनलाइनमार्फत कर्जाका लागि आवेदन दिने, कर्जा स्वीकृत गर्ने र सम्बन्धित ग्राहकको खातामा जम्मा हुनेसम्मको व्यवस्था रहेको छ । सोही आधारमा यस्तो कर्जालाई विद्युतीय कर्जा नाम दिएको र यो कर्जा राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू संलग्न रहन सक्ने मार्गदर्शनमा उल्लेख छ ।

विद्युुतीय कर्जा प्रवाह गर्न सम्भावित ऋणीबाट कर्जा आवेदनदेखि कर्जा असुलीसम्मका कार्यमा सहजीकरण गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरूले अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई प्रतिनिधिका रूपमा संलग्न गराउन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा तलबी खाता रहेका वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम पाँच लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा दुई लाख रुपैयाँसम्म विद्युुतीय कर्जा उपलब्ध गराउन सक्नेछन् । साथै कर्जा प्रदान गर्दा, फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी प्रवाह गर्न सकिने मागदर्शनमा उल्लेख छ ।

राष्ट्र बैंकद्वारा विद्युुतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन २०७८ जारी

ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन् । आवेदन प्राप्त भएपश्चात बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्यांक विभिन्न स्रोतबाट विद्युतीय माध्यममार्फत नै प्राप्त गर्नुपर्नेछ ।

कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए, नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युुतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनु पर्नेछ । स्वीकृत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुुपर्नेछ ।

ग्राहकलाई विद्युुतीय कर्जा उपयोग गर्दा लाग्ने शुल्कको बारेमा कर्जा प्रवाह गर्नुअघि नै स्पष्ट जानकारी दिनुु पर्नेछ । ग्राहकसँग कर्जा सेवा शुल्क तथा तेस्रो पक्षलाई बुझाउनुपर्ने शुल्कबाहेक अन्य शुल्क लिन नपाइने मार्गदर्शनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया