मंगलबार, वैशाख १६, २०८२

नेपाल इन्भेष्टर्स फोरमले भन्यो- अत्यधिक वृद्धि गरिएको ब्याजदरको पुनरावलोकन होस्

नेपालखोज २०७८ फागुन २ गते १५:०८

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्यधिक वृद्धि गरिएको ब्याजदरको यथाशीघ्र पुनरावलोकनको माग गरेको छ । फोरमका अध्यक्ष तुलसीराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्मविपरीत एकतर्फी रुपमा तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी वृद्धि गरिएको ब्याजदरको पुनरावलोकनको माग गरेका हुन् ।

‘वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रुपमा तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरम सम्बन्धित निकायसँग अनुरोध गर्दछौं,’ फोरमले विज्ञप्तिमा भनेको छ ।

यस्तै विभिन्न समयमा भएका अस्थिर नीतिगत परिवर्तनले पुँजी बजारले अत्याधिक उतारचढावको सामनासमेत गर्नुपरेको फोरमले जनाएको छ । ‘विगतमा लगानीका अन्य क्षेत्रहरू सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म, गृहणीदेखि सेवा निवृत व्यक्तिहरूसम्म, ठूला व्यवसायिक घरानादेखि साना व्यवसायीहरूले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको कुरा विगत ५ वर्षको तथ्यांकबाट प्रस्ट देख्न सकिन्छ,’ विज्ञप्तिमा छ ।

यस्तै फोरमले अहिलेको विषम् परिस्थितिमा पुँजीबजारको विकास र विस्तारका लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढी गम्भीर हुनुपर्नेमा जोड दिएको छ । ‘आर्थिक समृद्धि अभियानलाई मूर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पुँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पुँजीबजारको विकास र विस्तारका लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढी गम्भीर हुन र यस्तो विषम् परिस्थितिमा लगानीकर्ता साथीहरू संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्नुहुन विनम्र अनुरोध गर्दछौं,’ अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

प्रतिक्रिया