मंगलबार, वैशाख १६, २०८२

कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई मन्त्री श्रेष्ठकाे निर्देशन

नेपालखोज २०७८ फागुन ५ गते १७:३२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीलाई अगाडी बढाउन आग्रह गरेकी छन् । उनले कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन समेत दिएकी छन् ।

नयाँबानेश्वर स्थित सहकारी विभागको आज अनुगमन तथा निरिक्षणमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउँदै जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी हुन् । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि उनले भनिन, ‘धेरै सहकारीले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्य मारमा परेको गुनासो बढ्दै गइरहेको अवस्थामा समयमा नै समस्या पहिचान गर्नुस त्यसको समाधानका लागि मन्त्रालय तयार छ ।’

मन्त्री श्रेष्ठले नियमित रुपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्याङ्क, सहकारी एकीकरणमा देखिएको समस्या समाधान, सहरकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती र संघीयताको मर्म सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नु पर्नेमा जोड दिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै विभागले प्रभावकारी भूमिका खेल्नु पर्ने बताए ।

सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा रहेका समस्या समाधानका लागि आफुले पहल शुरु गर्ने र सहकारीको नियमन, प्रवद्र्धन र प्रशिक्षणलाई जोड दिएर कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया