शिव परिवारको महिमा !

सबै पर्वले कुनै न कुनै सन्देश लिएर आएका हुन्छन् । यस्ता सन्देशले हामीलाई हाम्रो सांस्कृतिक एवं प्राकृतिक कुराहरुको महत्त्व बुझ्न मद्दत पुर्याउँछन् । यसक्रममा महाशिवरात्रिले पनि आफ्नै प्रकारको सन्देश बोकेको छ जसले हामीलाई विपरीत परिस्थितिमा पनि परिवारका साथ रहने शिक्षा दिन्छ ।
देवताहरुका पनि देव महादेवमा अनुपम सामन्जस्य, अद्भभुत समन्वय र उत्कृष्ट सद्भभावको दर्शन लुकेको छ । हामिले भगवान् शिवका यी गुणबाट शिक्षा लिएर विश्व कल्याणका महान कार्य गर्न सक्छौ । यही यो परम पावन पर्वको दिव्य सन्देश हो । शिव अर्धनारीश्वर भएर पनि काम विजेता हुन , गृहस्थ भएर पनि परम विरक्त हुन । भगवान् शिव हलाहल पान गरेका कारण नीलकण्ठ भएर पनि विषको प्रभावबाट मुक्त छन् । उग्र भए पनि सौम्य छन् अकिंचन भए पनि सर्वेश्वर छन् ।
भयंकर विषधर नाग र सौम्य चन्द्रमा दुवै शिवका आभूषण हुन् । उनको मस्तकमा तेस्रो आँखारूपी प्रलयकालीन अग्नि र टाउकामा परम् शीतल गंगा छन् । शिरबाट निस्किएकी गंगाको धाराले पृथ्वीका प्राणी-वनस्पति सबैको कल्याण गरिरहेको छ । वृषभ भोले बाबाको सवारी हो भने सिंह माता भगवतिको शक्तिसालि सवारी हो । मयुर कार्तिकेयको सवारी हो भने मुसा गणपतिको सवारी हो । भगवान शिवको यो परिवारले हामीलाई आपसी बैरभाव बिर्सिएर प्रेम पुर्वक एक साथ रहने र समस्त विरोधी भाव बीच सुन्दर समन्वयको शिक्षा दिन्छ । शिवको यो परिवारबाट हामिले विपरीत स्वभावमा पनि सामन्जस्य कायम राख्ने अद्भभुत शिक्षा प्राप्त गर्दछौं ।
के हो शिवलिंग ?
श्रीविग्रह शिवलिंग ब्रह्मान्ड एवं निराकार ब्रह्मको प्रतीक भएका कारण सबैका लागि पूजनीय छन । जसरि निराकार ब्रह्म रूप, रंग, आकार आदि रहित हुन्छ शिवलिंग पनि त्यस्तै हो । जसरि गणितमा शून्य केहि नभए पनि सबै कुरा हो । जसरि शून्यले कुनै पनि अंकमा जोडिएर उक्त अंकको मूल्य दस गुणा बढनइदिन्छ त्यसै गरि शिवलिंगको पूजाले शिव दाहिना भै अनन्त सुख-समृद्धि प्राप्त हुन्छ ।
प्रतिक्रिया