अपराजित रहँदै मच्छिन्द्रले जित्यो ‘ए’ डिभिजन लिगकाे उपाधि

काठमाडाैं । मच्छिन्द्र क्लव अपराजित रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्न सफल भएको छ । उसले लिगको अन्तिम खेलमा एपीएफलाई २-१ गोलान्तरले हराउन सफल भयो ।
जारी लिगमा दुई खेल अगाडी नै लिग च्याम्पियन बनेको मच्छिन्द्रले कुल १३ खेलमा ११ खेलमा जित निकाल्न सफल भयो । साथै उसले लिगमा कुल ३५ अंक जोड्दै यो सिजनको लिग टुंग्याएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले २० गोल गर्दा मात्र दुई गोल खायो । पहिलो खेलमा एनआरटीसँग गोल खाएपछि अन्तिम खेलमा आएर दोस्रो गोल खायो ।
खेलको ११ औं मिनेटमा एपीएफले गोलको राम्रो अवसर सिर्जना गरेको थियो । बिकी तामाङको पासमा आशिष लामाले गरेको प्रहारलाई मच्छिन्द्रका आन्द्रेस नियाले बचाए । २१ औं मिनेटमा मच्छिन्द्रका विशाल राईको पासमा अभिशेख रिजालको आकर्षक प्रहारलाई एपीएफका गोलकिपर युया कुरियामाले बचाए । २२ औं मिनेटमा एपीएफका आभाष लामिछानेको प्रहारलेपनि सहि दिशा लिन सकेन ।
४१ औं मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता बनायो । आन्द्रेज नियाको पासमा अभिशेख गुरुङले गोल गर्न सफल भए । जारी सिजनमा उनको यो पहिलो गोल हुन । एपीएफको डिफेन्सलाई अगाडी बढेको अवस्थामा उनले डिबक्स भित्रबाट गरेको प्रहार एपीएफका गोलकिपर युयाले बचाउन सकेनन् । खेलको ५५ औं मिनेटमा एपीएफका सनिश श्रेष्ठको प्रहारलाई मच्छिन्द्रका गोलकिपरले बचाए । ५८ औं मिनेटमा नविन लामाको क्रसमा सनिश श्रेष्ठले पाएको मौकामा बलमा राम्रोसँग कनेक्ट गर्न सकेनन् ।
६० औं मिनेटमा एपीएफले अर्को मौका पाएको थियो । उसका आभाष लामिछानेको प्रहार पोष्टको माथिबाट बाहिरीयो । खेलको ६३ औं मिनेटमा फ्रिकिकमा आशिष लामाले गरेको प्रहार पोष्टको माथिबाट बाहिरीयो । ६५ औं मिनेटमा अर्मान्ड बिडोङको क्रसमा आशिष लामाले मिलाएको बलमा रबी थिङले पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् ।
६९ औं मिनेटमा एपीएफले गोल फर्काउन सफल भयो । उसका लागि प्रदिप लामाले गोल गर्न सफल भए । योसँगै मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठको ११ खेलको क्लिनसिटको यात्रामा पुर्ण विराम लागेको छ । ७४ औं मिनेटमा एपीएफले अर्को राम्रो अवसर खेर फाल्यो । उसका रबी थिङको प्रहारलाई विशाल श्रेष्ठले बचाए ।
खेलको ८१ औं मिनेटमा मच्छिन्द्रले खेलमा फेरी अग्रता बनायो । उसका एपीएफको डिफेन्सको कमजोरीका कारण मच्छिन्द्रका आन्द्रेस नियाको पासमा रेजिन शुब्बाले गोल गर्न सफल भए । सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका रेजिनको जारी लिगमा दोस्रो गोल हो ।
खेलको ८३ औं मिनेटमा विमल घर्तिमगरेको पासमा सोनाम भुटियाको लामो दुरीको प्रहारलाई एपीएफका गोलकिपर युयाले उत्कृष्ट बचाउ गरे । ८५ औं मिनेटमा शनिस श्रेष्ठको क्रसमा नविन लामाको हेडर प्रयास गोलकिपर विशाल श्रेष्ठले बचाए । खेलको ८९ औं मिनेटमा मच्छिन्द्र र एपीएफ १० खेलाडीमा झर्यो । एपीएफका आभाष लामिछाने र मच्छिन्द्रका सोनाम भुटिया दुबैले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।
खेलको ९० औं मिनेटमा नविन लामाको कर्नरमा अर्मान्ड बिडोङको हेडर प्रयासलाई मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको इन्जुरी समयमा एपीएफका कप्तान नविन लामाले डिबक्समा खालि रहेको अवस्थामा हेडर प्रयास गर्दा गोल गर्नबाट चुके ।
त्यसपछि एपीएफ खेलमा फर्कन सकेन र लिगमा चौथो हार ब्यहोर्न बाध्य भयो । उसले १२ खेलमा तीन जित, ६ बराबरी र चार खेलमा हार ब्यहोर्यो । उसले लिग आठौं स्थानमा टुंग्याउन सफल भयो । सुरुवाती चार खेलमा हार ब्यहोरेपछि रेलिगेसनको संकटमा परेको एपीएफले बिचमा राम्रो प्रदर्शन गर्दै लिग मध्यक्रममा सकेको छ ।
योसँगै मच्छिन्द्र च्याम्पियन बन्दा त्रिभुवन आर्मी दोस्रो, एनआरटी तेस्रो, सातदोबाटो चौथो, मनाङ पाँचौं स्थानमा रह्यो । थ्रीस्टार छैटौं स्थानमा रहँदा संकटा सातौं स्थानमा रह्यो । यो सिजनबाट ब्रिगेड ब्याइज र च्यासल रेलिगेसनमा परिसकेका छन् ।
प्रतिक्रिया