सोमबार, वैशाख २९, २०८२

विश्वकप लिग टू- यूएईसँग नेपाल ९९ रनले पराजित

नेपालखोज २०७८ चैत ७ गते १८:५५

काठमाडाैं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल यूएईसँग दोस्रो खेलमा पनि पराजित भएको छ । पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९९ रनले पराजित हुन पुग्यो ।

२०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभरमा १०३ रन बनाउँदा अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाउँदा आरिफ शेख र सोमपाल कामीले १५/१५ रन जोडे । विनोद भण्डारीले १२ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन असफल रहे । यूएईका जुनेन सिद्धिकीले ४ विकेट लिँदा कासिफ दाउद र अहमद रजाले दुई दुई विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको यूएईले रोहन मुस्तफाको अर्धशतकको मद्दतले निर्धारित ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो । यसैगरी युएईका मोहमद वासिमले ३३ रन बनाउँदा उनीसँगै ओपनिङ आएका चिराग सुरुले २६ रन जोडेका थिए । विराट्य अरविन्दले २४ रन बनाउँदा बसिल हमेद १७ रनमा आउट भए । पहिलो विकेटका लागि सुरी र वासिमले १६ ओभरमा ५७ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारीलाई नेपालका सन्दीप लामिछानेले तोडेका थिए । टिमको स्कोर ६५ रन भएका बेला युएईले दोस्रो विकेट गुमायो । दोस्रो सफलता नेपाललाई चिराग सुरुको रुपमा करण केसीले दिलाएका थिए ।

यूएईले ७३ रन बनाउँदा तेस्रो विकेट गुमाउन पुग्यो । यूएईका चुन्दगोपिल रिजवानलाई नेपालका दीपेन्द्रसिंह ऐरीले पभेलियनको बाटो देखाएका थिए । रिजवान ४ रन बनाएर आउट भएका थिए । ३१.२ ओभरमा १०५ रन हुँदा युएईले चौथो विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा विराट्य अरविन्द आउट भए । उनलाई आरिफ शेखले पभेलियनको बाटो देखाए ।

पाँचौं विकेटको रुपमा बसिल हमेदलाई नेपालले आउट गर्‍यो । सन्दीप लामिछाने आफैले क्याच लिएपछि हमेद आउट हुन पुगे । हमेद आउट हुँदा यूएइले ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । एक इनबाट टिकेर खेल्दै अर्धशतकीय पारि खेलिसकेका रोहन मुस्तफाको विकेटले नेपाललाई छैटौं सफलता दिलायो ।

दीपेन्द्रसिंह ऐरीले मुस्तफालाई ४५.४ ओभरमा पभेलियन पठाए । सोही ओभरको अन्तिम बलमा दीपेन्द्रले नै कासिफ दाउदलाई आउट गर्दै नेपाललाई सातौं सफलता दिलाएका थिए । सात विकेट गुमाउँदा युएईले ४६ ओभरमा १७३ रन बनाएको थियो । आठौं सफलता भने सन्दीप लामिछानेले नेपाललाई दिलाए । उनले कप्तान रजालाई खाता नै खोल्न दिएनन् ।

यूएईविरुद्ध नेपालका ७ जना बलरले बलिङ गरे । विक्रम शोबले चार ओभर बलिङगर्दा १ ओभर मेडन राख्दै २० रन खर्चिए ।यसैगरी सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चिएर २ विकेट लिँदा करण केसीले ९ ओभरमा ३६ रन दिएर २ विकेट लिए ।

सन्दीप लामिछानेले १० ओभरको स्पेलनमा १ ओभर मेडन राख्दै ३२ रन खर्चिएर ३ विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले ६ ओभर बलिङ गर्दा २८ रन खर्चिएर १ विकेट लिए । आरिफ शेखले ९ ओभरमा ३१ रन दिएर १ विकेट लिँदा पवन शर्र्राफले २ ओभरमा ८ रन खर्चिएका छन् ।

प्रतिक्रिया