सोमबार, वैशाख १५, २०८२

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

नेपालखोज २०७९ वैशाख १ गते ०:२३

काठमाडाैं । कालीकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने जनाइएको छ ।

अहिले विमानस्थलको टावर, भवन , वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए ।उनले भने, ‘आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ । लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो ।’

विमानस्थलसम्म सडक  नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो । यस आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई प्राधिकरणले समयसीमा दिएको छ । धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने  छ ।  विसं २०४२ देखि हालसम्म विमानस्थल निर्माणमा  रु ३९ करोड खर्च भइसकेको जनाइएको छ । 

विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीलाई समस्या भएको  गौरी पार्वती श्याम एण्ड शङ्कर  जेभीका प्रतिनिधि कलम केसीले जानकारी  दिनुभयो । उनले भने, ‘कच्ची, अप्ठे्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ । हामीले वैशाखको पहिलो हप्ताबाट धावनमार्ग कालोपत्रे गर्ने तयारी गरेका छौँ । असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’

सो कम्पनीले कालोपत्रे गर्न, नाला र माटो काट्न  रु १३ करोड ८१ लाख ठेक्का लिएको तथा भवन र टावर निर्माणका लागि पिआर इन्फ्रास्टक्चरले रु तीन करोड ४७ लाख ७४ ठेक्का लिएको जनाइएको छ ।  

प्रतिक्रिया