शान्ति र समृद्धिको आधार महावीरको ‘संयमतासम्बन्धी विचार’

काठमाडौं । राष्ट्र, समाज तथा परिवारले महावीरको सिद्धान्त अपनाए शान्ति तथा विकासले फड्का मार्ने काठमाडौंमा आयोजिक एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । काठमाडाैंमा बिहीबार आयोजित तिर्थकर भगवान महाविरको २६२१ औं जन्म कल्याणक समारोहका वक्ताहरूले सो कुरा बताएका हुन् ।
सानिध्य लक्ष्मणसेन भट्टारकले महावीरले यस धर्तीमा जन्म लिएपछि सुखको अनुभूति भएको जनाए । नेपालको काठमार्डाैंमा एक मात्र जैन परिषद् हुनु सुखद् पक्ष भएको उनले जनाए । उनले काठमाडौंमा रहेको एकमात्रै जैन परिषद्ले पनि देशको विकासमा टेवा दिने दाबी गरे । जैन परिवार जहाँ बस्छन् त्यहाँ सुख र शान्तिको महसुस हुने भन्दै उनले महावीर भगवानको सिद्धान्त अपनाउँदै शासन गरे देशमा समृद्धि हुने दाबी गरे । यस्तै व्यक्तिगत जीवनमा महावीरको सिद्धान्त अपनाएर सुखसमृद्धि हुने विद्वानहरूले जनाएका छन् ।
यसैबीच सानिध्य समणी निर्देशिका मधुर प्रज्ञाले रिस,राग, डाह, जातिगत विभेद, हत्यालगायतका घटना हुन नदिन महावीरको सिद्धान्तलाई अनुसरण गर्नुपर्ने जनाइन् । महावीरको सन्देशलाई व्यवहारमा लागु गरे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतकै कल्याण हुने विद्वानहरूको भनाइ छ ।
जैन परम्पराले औतारवादलाई नमान्ने बताउँदै मधुर प्रज्ञाले महावीर विचारको पुनर्जन्मको आवश्यकता भएको जनाइन् । विद्वानहरूका अनुसार महावीरले समस्याबाट नआतिकन संयमता अपनाउन सन्देश दिएका छन् । विरोधी धारको मार्ग नअँगालिकन संयमता अपनाउँदै समस्या समाधानको माध्यम खोजे समाज तथा परिवारमा शान्ति र समृद्धिको बाटो खुल्ने मधुर प्रज्ञाको विश्वास छ । ज्ञान, बुद्धि, अनुशासन,शक्ति,तेज, पवित्रताबाटै मानिस सम्पन्न भएको ठहरिने माहावीरको सन्देश भएको प्रज्ञाले जनाइन् ।
समारोहमा पूर्व राज्यमन्त्री एवं सांसद मोति दुगडले महावीरको संयमता र अहिंसाको पाटोको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मानिसका सवै कामहरू देखावटी मात्रै नभई व्यवहारिक महत्त्व दिने खालका हुनु पर्नेमा जोड दिए । महावीरका विचारहरू व्यवहारमा उतार्न आवश्यक भएको बताउँदै उनले अनुयायीहरूले हिंसा, अन्याय अत्याचार, हत्यालगायत सामाजिक विकृतिको विरुद्धमा बोल्नु पर्नेमा जोड दिए ।
यस्तै दिन–दुःखीलगायतको पक्षमा बोल्दै महावीरको सन्देशलाई बृहत् रूपमा प्रचारप्रसार गरिनु पर्नेमा उपाध्यक्ष पोखरेलले जोड दिएका छन् । उपाध्यक्ष पोखरेलले नेपालमा कम्युनिष्टका नाममा केही पाखण्डी रहेको जनाए । उनले एमालेले सिद्धान्तअनुसार आमनागरिकको आस्थामा चोट नपुर्याउने दाबी गरे । जैन परिषदका अध्यक्ष महेन्द्र भट्टेरियाको अध्यक्षता भएको कार्यक्रममा पूर्व राज्यमन्त्री रामवीर मानन्धरलगायतले बोलेका थिए ।
काे हुन् त भगवान महावीर जैन ?
जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२१ औँ जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको कुण्डलग्राम नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशलाबाट उहाँको जन्म भएको थियो ।
राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्किएका विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका थिए ।अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी संग्रह नगर्ने सन्देश महावीरले दिएका थिए ।
अरुलाई दुःख दिनु पनि हिंसा भएकाले अरुको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । भगवान महावीरको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् ।
प्रतिक्रिया