मंगलबार, वैशाख १८, २०८१

आत्मदाहले पड्काएको बम

नेपालखोज २०७९ माघ ११ गते १३:११

काठमाण्डौं । बाँचुन्जेल दर्जनौ प्रयासमा असफलता पाएका इलामका प्रेम प्रसाद अचार्यले अन्ततः आत्मदाहको प्रयासमा भने सफल बने । मंगलबार संसद भवन अघिल्तीर आफ्नै शरिरमा आगो लगाएका उनले सडकमै मृत्युबरण गर्न चाहन्थे । प्रहरी र स्थानीयको सहयोगमा शरिरको आगो निभाएर किर्तिपुर अस्पताल पु¥याए । शरिरको ८० प्रतिशत भाग जलिसकेको अवस्थामा आचार्यलाई बचाउन खोजिएको चिकित्सकको प्रयास असफल बने ।

आत्मदाहको यो घटनाले चौतर्फी प्रहार गरेको छ । बाँचुन्जेल बाँच्न र परिवारलाई बचाउनका लागि गरिएको प्रयासका फेयरिष्त हेर्दा जो कोहीलाई पनि लाग्छ की प्रेमको विद्रोह सहि थियो । यसो भन्दै गर्दा आत्महत्या समस्याको समाधान भने हुँदै होइन । उनी हल्ला नगरिकन पनि संसार त्याग्न सक्थे । तर उनले आत्मदाहको खुलेआम प्रयास गरे । जुन सफल भयो । उनको निधनमा दुख छ । उनको ठाउँमा तपाई भएको भए के गर्नुहुन्थ्यो भन्ने प्रश्न उब्जिएको छ । उनको फेसबुक नोट हेर्दा लाग्छ, राज्यको प्रणालीमा सुधार आवश्यक छ । उनले राज्यकै प्रणालीगत समस्याका कारण आफू दर्जनौ पटक असफल बनेको आरोप लगाएका छन् । राज्यलाई सुधारका बुँदा समेत सुझावमा राखेका छन् ।

सफलताको खोजीमा गाउँ–शहर, शहर–गाउँ, देश–विदेश, विदेश–देश धाउदा पनि कुनै प्रगति नहुनु, बरु भएको सम्पत्ति पनि खेर जानुले उनी माथि चरम निराशा देखिएको प्रष्ट देखिन्छ । निराशाले आफैँलाई त्याग्ने निर्णयमा पुगेका प्रेमले फेरि पनि राज्य संयन्त्रमा सुधारको आशा जगाइदिएका छन् । राज्य सञ्चालनका बागडोर सम्हाल्न पुगेकाहरु कतिले सुन्छन्, सुनेकामध्य कतिले मनन गर्छन् । मनन गर्नेमध्य कति प्रणाली सुधारमा दत्तचित्त हुन्छन् । यो समयले देखाउने छ । तर राज्यले अबलम्बन गरेको नीति र प्रणालीमा सुधार आवश्यक छ, अब कसैले भनिरहनुपर्दैन् ।

देशमै गरिखान्छु भन्नेहरुलाई मरिजान्छु भन्ने वातावरण निर्माण हुनुको जिम्मा राज्यले लिनैपर्छ । सुधार र विकासको चर्को नारा लगाउनेहरु सरकारमा पुगेपछि जनतालाई विर्सने गरेको आरोप जनस्तरबाटै लाग्दै आएको छ । यसतर्फ राज्य संवेदनशील बन्नुपर्छ । प्रेमको आत्मदाहले राज्य संयन्त्रलाई झक्झक्याइ रहन सक्नुपर्छ । जब प्रेम मृत्युसँग लडिरहेका थिए, अस्पतालको बेडमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की उनलाई भेट्न पुगेकी थिइन् । उनले प्रेमसँग संवाद गरेका थिए । उनले सो क्रममा बाँचुन्जेल विलौना कसैले नसुनेको बताएका थिए ।

प्रेमको निधनपछि बोलेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रद्धान्जली दिदै नयाँ राजनीतिक दल र नेताले पनि आशा जगाउन नसकेकोमा माफी मागेका छन् । उनले आत्मदाहलाई हिजो देखिको निराशको परिणाम पनि भन्न भ्याए । प्रधानमन्त्री र अन्य मन्त्रीले श्रद्धान्जलीसम्म दिन भ्याएका छैन् । की उनीले यो घटनालाई सामान्य लिइरहेका छन् ? प्रश्नहरु जन्मिरहेका छन् । यहि सन्दर्भमा काठमाण्डौं महानगरका मेयर बालेन शाहले प्रेमको आत्मदाहले राज्यको असफल यात्रालाई संकेत गरेको टिप्पणी गरेका छन् । मूलुकको सिष्टम निर्माणमा नेताहरु चुकिरहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा देखिएका भावनाहरुमा प्रेमप्रति श्रद्धाभाव छ । उनीहरुको रुष्टता पनि राज्यसत्तासँगै देखिएको छ । उनीहरु नयाँ नयाँ व्यवस्था भित्रको जनताको किजोलिएको अवस्थालाई चित्रित गर्दछन् ।

आत्मदाहकै सन्दर्भमा हाँस्यकलाकार मनोज गजुरेल प्रेमले आत्मदाह अघि लेखेको लामो पत्र विश्वकै सत्तासिनहरुका लागि सचेत पत्र भएको बताउछन् । उनी लेख्छन्, ‘स्वमृत्युवरण समाधान थिएन । तर, तपाईंले गरेको संघर्ष, पाएको दुःख र खाएको हण्डर पढ्दा जोसुकैलाई कहाली लाग्छ । धन्न यत्रो समय सम्हाल्न प्रयास गर्नुभएछ । तपाईले आफुलाई समाप्त गर्नुभयो । छोराछोरा पिताविहिन बने । पत्नी विधुवा बनिन् । सारा मानिसलाई रुवाएर जानुभो ।’ अर्को कोणबाट विश्लेषण गर्दै पत्रकार तथा विश्लेषक भानुभक्त आचार्यले आत्मदाह प्रकरणमा ‘पत्रकार’लाई पनि दोष देखाएका छन् । उनले विम्बात्मक रुपमा भुँईमान्छेको कष्टकर अनुभव भन्दा पनि राजनीतिकमा मात्र ध्यान दिने पत्रकार पनि दोषी रहेको बताए । ‘पत्रकारिता गतिलो भएको भए यो स्तरको राजनीतिक, आर्थिक र व्यापारिक अराजकता हुने थिएन । नेताका पछिपछि कुद्ने पत्रकारिताले भुइँमान्छेको आत्मदाहलाई एउटा पूरक समाचार मात्रै ठान्नु कुनै अनौठो कुरा होइन ।’उनले लेखेका छन् ।

आत्मदाहले अर्को कुरालाई पनि उठान गरेको छ । पेट्रोलियम पदार्थको खुला विक्रि । जसरी एसिड खुला विक्रिबाट महिलामाथि हुने आक्रमणको घटना बढेको थियो । त्यसरी नै पेट्रोलियम पदार्थको खुला विक्रिमा रोक लगाउन सकिएन भने चरम निराशाको पर्खालमा टेकेर आत्मदाहको अन्य प्रयास नहोला भन्न सकिन्न । यसतर्फ सचेत बन्नुपर्ने देखिन्छ । यद्यपी, प्रेमको यो घटनापछि प्रहरीले खुलारुपमा पेट्रोलियम पदार्थको विक्रि नगर्न, गरेको थाहा पाएमा सूचना दिन र संलग्नलाई कारबाही गर्ने सूचना मंगलबार मध्यराति नै जारी गरेको छ । घटनापछि आएको यो चेतलाई राज्य संयन्त्रले दीर्घकालसम्म जीवित राख्न सक्नुपर्छ ।

प्रेमको लामो नोटमा उनले आफ्नो परिवारको चिन्ता गरेका छन् । पारिवारिक सहजताको लागि उनले सहयोगको अपिल गर्दै श्रीमतीको बैँक खाता नम्बर समेत राखेका थिए । यो घटनाको विश्वव्यापीकरणले देशविदेशका सहयोगी व्यक्तिहरुले सकेको सहयोग जम्मा गर्न थालिसकेका छन् । त्यसको एक उदाहरण डा. ओम मुर्ती अनिल हुन् । उनले ५१ हजार सहयोग पीडित परिवारको नाममा जम्मा गरेर सहयोगका लागि अपिल गरेका छन् । देशविदेशका विभिन्न अभियान्ता र सामाजिक संस्थाहरुले सहयोग संकलन थालेका छन् । जस्ले गर्दा आचार्य परिवारको भविष्यमा टेवा पुग्ने अपेक्षा राख्न सकिन्छ । यद्यपी, सहयोग सम्बन्धीत व्यक्तिसम्म नपुग्ने विभिन्न घटनाका कारण दुरुपयोग हुने संभावना पनि उत्तिकै छ । सहयोगीहरुले पीडित परिवारकै खातामा सिधैँ जम्मा गर्न सके मात्रै दुरुपयोग रोकिनेछ ।

जाँदाजाँदै प्रेमले दिएको २५ बुँदे सुझावलाई राज्यले मनन गरेर कार्यान्वयनको बाटो समाए मात्र प्रेमको आत्माले शान्ति पाउला । प्रेमजस्लै मन जलाएका तन जलाउन नसकेकाहरुलाई पुर्नजीवित हुने अवसर मिल्नछ । अन्ततः जीवनभर दर्जनौ प्रयासमा असफल बनेका प्रेम आत्मदाहमा भने सफल देखिए । उनी मरेर पनि बाँचिरहे । उनको आत्मदाहले सुधार जबरजस्त आवश्यक छ भन्ने कुरालाई पुष्टि गरेको छ । भष्ट्राचार र पहुँचवालाहरुको थिचोमिचोमा परेकाहरु देश छाड्न चाहन्छन् । अलि राम्रो देशमा भिषा लागे देशमा नेता र तीनका कार्यकर्ता मात्र रहने अवस्था छ । हुँदै नभए कतार मलेसिया भएपनि जानुपर्ने बाध्यता अझ कसिलो बन्दै गएको छ । देश भित्रै केही गरि खान्छु भन्नेहरुलाई उपयुक्त वातावरण निर्माण नगर्ने हो भने अबको मूलुकको अवस्थालाई आत्मदाहले पनि गतिलो झापड हानेको छ । बाँचेकालाई बाँचेको छु भन्ने महसुश दिलाउन पनि राज्य संयन्त्र, विधि पद्धतीलाई व्यवहारिक बनाइनुपर्छ । त्यसको लागि राज्य हाँक्नेहरु (नेता)सुध्रिनुपर्छ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई ……..।

प्रतिक्रिया