मंगलबार, वैशाख १६, २०८२

गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया

नेपालखोज २०७९ फागुन २७ गते ८:०९

काठमाडाैं । झापाको भद्रपुरमा गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया गरिएको छ । हिजाेदेखि भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएपछि गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरिक्रया गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै भएको बताए ।

आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फस्टाउने भन्दै उनले तीन तहकै सरकारले समान महत्त्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उच्च योगदान गर्न सक्ने बताए । विदेशी पर्यटक नेपाल आउँदा भौतिक पूर्वाधार हेर्न नभएर नेपालको प्राकृतिक सुन्दरता, जातीय कलाकौशल, रहनसहन, वेषभूषा, कला संस्कृति हेर्न आउने भएकाले सोको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

नाटाका कोशी प्रदेश अध्यक्ष हरेराम अधिकारीले पोखरा–भद्रपुर उडान सुरु भएसँगै पोखराबाट सातै प्रदेशमा हवाई सेवा सञ्चालनमा आएको बताए । स्थलमार्गबाट १८ देखि २४ घण्टासम्मको यात्रा अब एक घण्टामै सीमित भएको बताउँदै उनले दुईवटै प्रदेशको पर्यटन प्रवर्द्धनमा जुट्नुपर्नेमा जोडदिए । ‘आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्छ’, उनले भने, ‘हामीसँग अथाह सम्भावना छ ।’

इलामको रोङ गाउँपालिका प्रमुख मनिकुमार सेङ्वो, झापाको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, कचनकवल गाउँपालिका प्रमुख कलेन्द्रप्रसादसिंह राजवंशीलगायतले पर्यटकीय क्षेत्रसम्म पुग्ने आधारभूत संरचना निर्माणमा बजेट अभावले काम गर्न नसकेको बताए ।

झापाली सञ्चारकर्मीले सम्भावित पर्यटकीय क्षेत्रमा सडक, पानी, यातायात जस्ता आधारभूत पूर्वाधारले छुन नसकेको तथा चन्द्रगढी विमानस्थलमा सञ्चालनमा रहेका ट्याक्सी व्यवसायीको सिण्डिकेटका कारण पर्यटकले सास्ती व्यहोर्नुपरेकाले सोको सुधारका लागि सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए ।

पोखराका सञ्चारकर्मीले पर्यटकीयस्थलको पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्नेमा जोडदिए । भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रियामा उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष टीकाराज ढकाल, पर्यटन बोर्डका सदस्य मदन आचार्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले गण्डकी र कोशी प्रदेशले एकापसमा पर्यटक आदानप्रदान गर्न सके समग्र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण उपलब्धि प्राप्त हुने धारणा राखेका थिए ।

पोखरा पर्यटन परिषद्को आयोजनामा भएको कार्यक्रमको संयोजन नाटा गण्डकी प्रदेशले गरेको थियो भने समन्वय भद्रपुर नगरपालिकको रहेको थियो ।

प्रतिक्रिया