शनिबार, वैशाख १३, २०८२

पौरखी चन्द्र खत्बे, जसले कबाडीबाटै मासिक ७० हजार कमाउछन्

नेपालखोज २०८० साउन १० गते ११:२५

काठमाडौं । काठमाडौंमा एकबिहानै सुतिरहेकै अवस्था सुनिन्छ, ‘कबाडीवाले ! आयो फलाम, कापीकिताब… !’ यो आवाज लगाउनेमध्येका कैयौँ पात्रमध्ये एक हुन् चन्द्र खत्बे।

पानी पिएपछि बोत्तल जहाँ पायो त्यहीँ फ्याँक्ने हामीमध्ये धेरैको बानी अझै गइसकेको छैन । सिसाका भाँडा चर्किएपछि पनि फोहोरसरि कतै न कतै फालिरहेकै हुन्छौँ। पढिसकेका पुराना किताबकापी पनि फाल्नै हतारो गर्छौं ।

यस्तै घरमा कुच्चिएका, प्वाल परेका भाँडाकुँडा, जस्ताका टुक्राटाक्रीलगायत काम नलाग्ने चिज कहाँ थन्क्याउने भनेर मेसो पाइरहेका हुँदैनौँ । ती चिजले घरको ठाउँ ओगटेका हुन्छन्। यी सबैको समाधान पनि खत्बेजस्तै पात्रहरू हुन् ।

देशमा रोजगारीको अवसर छैन भन्नेलाई गतिलो सिकाइ बनेका सर्लाही जिल्ला, चकरघट्टा गाँउपालिका वडा नं–४ का खत्बे दैनिक कबाडी उठाउने काम गर्छन्। सामान्य परिवारमा जेठा छोराको जिम्मेवारीसहित जन्मिएका खत्बेले स्कुलको आँगन टेकेका छैनन् । सामान्य जीविकोपार्जन गर्न अरुको घरमा ज्यालादारी गर्नुभन्दा आफ्नै केही गर्छु भनेर काठमाडौं छिरेको बताउछन्।

खत्बेका माहिलो भाइ जोरपाटीमा पानीपुरी पोल्ने काम गर्छन् भने कान्छो भाइ गाँउघरमा ज्यालादारी तथा खेती गर्छन् । ‘आमाको एक वर्षअगाडि क्यान्सर लागेर बित्नुभयो,’ खत्बेले मृत्युको कारण बताउँदै भने, ‘चुरोट–बिँडी धेरै खाएर खोकी लागेको लाग्यै गथ्यो। खोक्दा पनि र दिशा–पिसाबबाट पनि रगत बग्थ्यो। आमालाई बचाउन धेरै कोसिस गरेँ, तर सकिएन।’

खत्बेका अनुसार बुवा पत्लु खत्बेले गाँउमा भएको एक बिगाहा जमिन बेचेर सम्पूर्ण परिवारको पालनपोषण गरेका थिए । ‘मलाई पढ्न मन त थियो। तर घरमा खानलाउनकै समस्या थियो। यही समस्याले आफ्नो इच्छा मार्नुपर्यो।’

चन्द्रको पहिलो विवाह रामपरी देवीसँग १५ वर्षको उमेरमा भयो। विवाह गरेको पाँच वर्षपछि निमोनियाका कारण रामपरीको मृत्यु भयो। ‘रामपरी बितेको तीन वर्षपछि फेरि बिहे गरेँ। बालबच्चा जन्मिए। गाँउमै बसेर छोराछोरीलाई पढाउन कठिन भयो। जन्मेको एउटा अपाङ्ग छोरालाई औषधि नभएपछि काठमाडौं आएको थिएँ,’ चन्द्र भने ।

अवसर खोज्दै काठमाडौं आइपुगेका खत्बेले गाँउकै साथी उपेन्द्र खत्वेसँग मिली पहिलोपटक कबाडीको काम सुरु गरे। तर यो काम सोचेजस्तो सजिलो थिएन। नयाँ मान्छेलाई पहिलो समस्या बाटो बन्यो। ‘एकै ठाउँमा घण्टौँ पनि घुमेँ,’ हाँस्दै सुनाउछन् खत्बे, ‘बिहान ७ बजे चिया खाएर मूलपानी, चाँगुनारायण, साँखु, जरसिहंपौवा, गागलफेदी डुलेर बेलुका ६–७ बजे कोठामा आइन्थ्यो।’

चन्द्रका अनुसार पहिला दिनको तीन सयदेखि ५ सयसम्म कमाइ हुन्थ्यो। प्रतिकेजी फलामको भाउ १० रुपैँया, सीसाको बोतल प्रतिगोटा ५० पैसा, कार्टुन प्रतिकेजी दुई रुपैयाँ, कापी प्रतिकेजी १० रुपैयाँ र जस्ताका टुक्रा प्रतिकेजी पाँच रुपैयाँ थियो।

‘पुरानो कापीकिताव उठाउन आयो कबाडी आयो’ भन्दै हिँडिन्थ्यो। नेपाली बोल्न पनि त्यति नआउने। सुरुमा ओए मदिसे ! तँल्लाई धोती ! भनेर हेप्थे। ‘मदिरा सेवन गरी समूहमा घेरेर पैसा कति छ निकाल् भन्दै धम्की पनि दिए,’ काठमाडौंमा संघर्षको चरण सम्झँदै खत्बे भावकु बन्छन्, ‘यसरी लुट्न, कुट्न खोज्दा आफ्ना पक्षमा बोल्ने कोही थिएन। जसरीतसरी दुःख गरेर महिनाको पाँचदेखि १० हजारसम्म घरमा पठाउँथें।’

खत्बेको जेठो छोरा जोधन जन्मजातै अपांग जन्मिए । दाँया खुट्टाको घुँडाको गोठी नै नभएकाले चार हातखुट्टा टेकेर हिँड्न थाले । ‘सर्लाहीमा उपचार हुन सकेन। पछि बनेपा ल्याई उपचार गर्दा अलिक भए पनि राहत मिल्यो,’ उनी सुनाउछन् ।

डाक्टरहरूले छोरालाई विदेश लगे राम्रो हुने र हिँड्न पनि सक्ने नबताएका होइनन्। तर त्यति धेरै खर्च उनीसँग छैन। छोरा सम्झँदा खत्बेलाई जहिल्यै एउटै कुराले पिरोल्छ– यदि पैसा भइदिएको भए…?

अहिले खत्बेले छोराछोरीलाई ऋण गरेरै भए पनि पढाएका छन् । कुनै बेला विदेश जाने सोच आएको थियो। अपांग छोरालाई छोडेर जान मन लागेन। ‘मेरा पाँच छोरा जन्मँदै कोही १० दिनमा, कोही हप्ता दिनमा त कोही जन्मेकै दिन बिते,’ आँखाबाट बलिन्द्रधारा आँसु खसाल्दै भक्कानिन्छन् खत्बे।

अहिले खत्बेका दुई छाेरा, जसमध्ये एक जना अपांग र दुईवटी छाेरी छन् ।

‘यही कबाडी काम गरेर अपांग छोरालाई औषधि, बाँकी छाेराछोरीलाई पढाइ, घरको खर्च तथा ऋणको ब्याज तिर्दै आएको छु,’ खत्बे भन्छन्, ‘गाँउघरमा अपांगको बाउ आयो भनेको सुन्दा नराम्रो लाग्छ। चुपो लागेर हिड्ँछु। जेजस्तो भए पनि कोहीसँग हात थाप्दै मागेर हिँडेको छैन। हिँड्न पनि नपरोस्।’

कबाडी बेचेरै खत्बेले अहिलेसम्म दिनकै सर्वाधिक धेरै १० हजार कमाएका छन् । यस्तै सबैभन्दा कम तीन सय रुपैँया। ‘बर्खाको बेला दैनिक आठ सयदेखि एक हजारसम्म कमाइ हुन्छ। हिँउदमा १५ सयदेखि तीन हजार हुन्छ,’ आफ्नो कमाइबारे खत्बे बेलिविस्तार लगाउछन्, ‘महिनाको साधारण खर्च कटाएर ७० हजारसम्म बचाउँछु।’

सर्वसाधारणसँग प्रतिगोटा बोतल एक रुपैयाँमा किनेर दुई रुपैयाँमा बेच्छन् खत्बे। यस्तै प्रतिकिलो फलाम ५० रुपैँयामा किनेर ५५ मा, कापी प्रतिकिलो १० रुपैयाँमा किनेर १५ मा बेच्दै आएका छन् । १० हजार आफ्नो खानपानका लागि छुट्याउने खत्बेको भनाइ छ।

यही पेसाले खत्बेलाई छोराको औषधिपानी, पढाइ, परिवारको खर्चबाहेक जग्गाजमिन जोड्न पनि सघाएको छ। ‘गाउँमै आधा कठ्ठा जग्गा साढे तीन लाखमा किनेँ,’ खत्बेले भने, ‘त्यसको साँवा–ब्याज गरी वर्षको २५ हजार गर्दै ५ वर्षमा तिरेँ। अहिले त्यो जग्गाको १० लाख पर्छ। खुसी छु। अब जम्माजम्मी तीन लाख ऋण छ। त्यति तिरेर छोरीको बिहे गरिदिन पाए आनन्द हुन्थ्यो,’ उनले अबको इच्छा र चाहना सुनाए।

मानिसले जस्तै व्यवसाय गर्ने साधनले पनि साथ दिनुपर्छ। खत्बेलाई कबाडी पेसा सुरु गर्ने बेला नौ सय रुपैयाँमा किनेको साइकलले साथ दिइरहेको छ। यही साइकलसँग जिन्दगीका सुखदुःख साटेका छन् । सबैभन्दा विश्वासिलो साथी पनि त्यही साइकल बनेको छ। –INS

प्रतिक्रिया