बालस्वास्थ्य र स्याहार

काठमाडाैं । बालस्वास्थ्य र स्याहार सामान्यतया बालस्वास्थ्य भन्नाले बालबालिका निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा तन्दुरुस्त अवस्था भन्ने बुझिन्छ । बालबालिकालाई विकासको क्रममा केही रोगहरू लाग्न सक्छ । सानातिना रोगले बालबालिकाको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ ।
बालबालिकाले कुनै विषाणु विरुद्ध प्रतिरक्षा शक्ति विकास गर्न नसक्दा रोगहरू लाग्छन् । यसमध्ये केहीलाई बालबालिकाको शरीरले नै प्रतिरक्षा गर्न सक्छन् भने केही रोगको लागि खोपहरू रोग लाग्नु पूर्व र रोग लागिसकेपछि औषधीको माध्यमबाट रोकथाम गर्नुपर्छ ।
रोगहरू लागेको बेलामा अभिभावकले पोषणयुक्त खाना, स्याहार तथा सरसफाइ भएको अवस्थामा सङ्क्रमण जटिल हुन पाउँदैन । बालबालिकामा देखिने सामान्य रोगहरू बालबालिकाको उमेरअनुसार गर्नुपर्ने शारीरिक वा मानसिक क्रियाकलाप गर्न नसक्ने र असामान्य अवस्था वा स्थिति सिर्जना हुनु रोग हो । बालबालिकालाई हुन सक्ने केही रोगहरू निम्नानुसार छन् :
• ज्वरो
• कान पाक्ने
• रुघाखोकी
• आँखा रातो हुने र पाक्ने
• निमोनिया
• एलर्जी
• कोभिड–१९
• दाद, लुतो
• झाडापखाला
• दादुरा,ठेउला
• जुका
बालबालिका बिरामी हुनाको कारण
• गर्भमा रहँदा र जन्मेपछिको वातावरण फरक हुनाले नवजात शिशुहरूको बाहिरको वातावरणमा समायोजन गर्ने शक्ति भएन भने उनीहरू बिरामी हुन्छन् ।
• नवजात शिशुको गर्भावस्थामा सङ्क्रमण भएर पनि बिरामी हुन सक्छन् । त्यसैगरी अतिज्वरो, श्वासप्रश्वास, पखाला, आँखा पाक्ने, छाला सम्बन्धी रोग आदि कारणले बिरामी पर्न सक्छन् ।
• बालबालिका जिवाणु, विषाणु, परजीवी आदिको सङ्व्रक्रमणले बिरामी हुन्छन् । यसैगरी दुर्घटना, तनाव, कुपोषण आदिको कारणले बिरामी हुने गर्दछन् । बालबालिकाको बिरामीपन पहिचानमा अभिभावकको भूमिका साना बालबालिकाले आफू बिरामी छु भनेर व्यक्त गर्न सक्दैनन् । उनीहरूको अवस्था अभिभावकले शारीरिक हाउभाउबाट पहिचान गर्नुपर्दछ । बालबालिकालाई सञ्चो नहुँदा राम्ररी दुध चुस्न, साविक खाना खान सक्दैन, तातो हुन्छ, पिसाब कम वा धेरै गर्ने, वान्ता हुन सक्छ, छिटोछिटो सास फेर्छ । एक्कासि छटपटिंदै रुन्छ ।
धेरै ज्वरो (१०१ डिग्रीभन्दा बढी) वा दुखाइले गर्दा बेहोश हुन्छ । शरीर अररो वा लुलो हुन सक्छ । बालबालिका बिरामी हुँदाको लक्षण राम्ररी अवलोकन गर्नुपर्छ । ज्वरो नाप्ने, सास फेरेको गति हेर्नुपर्दछ । ज्वरो आएको समयमा अनुहार रातो हुन्छ । शिशुले राम्ररी दुध चुस्न सक्तैन । उनीहरूको नङ ओठ-छालाको रङ सामान्य भन्दा फरक हुन सक्छ । दिसापिसाब कतिपटक भयो, कस्तो भयो हेर्नुपर्छ ।
शिशु/बालबालिका बिरामी हुँदा स्नेहपूर्ण व्यवहार र स्याहार गर्नुपर्दछ । सामान्य अवस्थामा भन्दा पौष्टिक खाना पटकपटक खुवाउनुपर्छ । सफा पानी पिउन दिनुपर्दछ । बिरामी शिशु/बालबालिकासँगै रहेर उनीहरूलाई सुरक्षित रहेको विश्वास गराउनुपर्दछ । उनीहरूको दुखाइ, डर, अप्ठेरो, असामान्य स्थितिलाई आमाबुबाले समानुभूति गरेको भावना व्यक्त गर्नुपर्दछ । बिरामी अवस्थामा बालबालिकाको नजिकै बस्ने, कुराकानी गर्ने कथा भन्ने, सँगै चित्र कोर्ने, खेलौना खेल्ने गर्नुपर्छ ।
स्रोत : युनिसेफ
प्रतिक्रिया