सरकारहरू कुस्तीमा उदासिन

काठमाडौं । छठ पर्वको अवसरमा मध्य तराइको विभिन्न गाउँहरूमा कुस्ती प्रतियोगिता आयोजना गरिने परम्परा अनुसार यस वर्ष पनि नेवतन बहुअरी, धोरे तथा वीरगन्जको इनर्वामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो।
इनर्वा मन्दिर संरक्षण समाजले आयोजना गरेको यो प्रतियोगिताको उद्घाटन पूर्व बन मन्त्री प्रदीप यादवले गरेका थिए । कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री यादवले तराइको परम्परागत खेलको रूपमा रहेको कुस्ती खेलको संरक्षण संवर्द्धन प्रति केन्द्रीय, प्रान्तीय तथा स्थानीय सरकारहरू समेत उदासीन रहेको गुनासो व्यक्त गरे । छठ पर्वको अवसरमा नेपाल र भारतका कुस्ती खेलाडीहरूलाई बोलाएर प्रतियोगिताको आयोजना गरेकोमा आयोजक समितिलाई मन्त्री यादवले धन्यवाद व्यक्त गरे।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष पलकधारी यादवको अध्यक्षमा सम्पन्न भएको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथिमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह श्रेष्ठ,जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सराफ, बहुदरामाई गाउँपालिकाका अध्यक्ष सिगांसन साह तेली लगायत नेताहरू सहभागिता रहेको थियो।
नेपालको तर्फबाट स्थानीय बारा तथा पर्सा जिल्ला र भारतका बिहार, उत्तर प्रदेश, दिल्ली, पन्जाब र गुजरातका १ सय भन्दा बढी कुस्ती खेलाडीहरू प्रतियोगितामा सहभागी थिए। यसैगरी पर्साको धोरे र बारोको नेवातन बहुअरीमा आयोजित दुई दिवसीय कुस्ती खेल प्रतियोगिताको सयौँ कुस्ती खेल प्रेमी दर्शकहरू दुवै देशका खेलाडी जोडीहरूको दङ्गल हेरेका अवलोकन गरेको आयोजक समितिले जनाएको छ। –INS
प्रतिक्रिया