बर्दिया निकुञ्जको गोदामबाट बाघका २५ वटा दाह्रा र गैंडाको खाग गायब

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ ।
निकुञ्जमा नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा दाह्रा र गैंडाको खाग गायब भएको विषय बाहिर आएको हो । यद्यपि, भण्डारीभन्दा अघिका वार्डेन विष्णुप्रसाद श्रेष्ठले आफू कार्यरत् रहँदा बाघको दाह्रा र गैंडाको खाग गोदामबाट हराएको थाहा पाइसकेका थिए ।
छानबिनमा संलग्नहरुका अनुसार, उनीहरुले यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई समेत जानकारी गराएका थिएनन् । अनलाइनखबरसँग कुराकानीका क्रममा भने श्रेष्ठले आफूलाई बाघको दाह्रा र गैंडाको खाग हराएकोबारे जानकारी नभएको दाबी गरे ।
‘स्टोर निरीक्षण गरेर त्यतिबेलै प्रमाणित गरेर बुझाएर म हिँडेको हुँ’, उनले भने, ‘त्यतिबेला हराएको विषयवस्तु नै आएको थिएन ।’ श्रेष्ठको सरुवा भएर भण्डारी गएपछि हराएको थाहा हुँदा २२ असोज २०७९ मा विभागलाई यसबारे पत्राचार भएको थियो ।
निकुञ्ज विभागले अनुसन्धान अधिकृत मनोज शाहको नेतृत्वमा कानून मन्त्रालय, नेपाली सेनाको जंगीअड्डा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको प्रतिनिधित्व हुने गरी छानबिन समिति गठन गरेको थियो ।
प्रतिक्रिया