मंगलबार, वैशाख १६, २०८२

कोरोना महामारी भयावह बन्दै,
फ्रन्टलाईनमा बस्ने प्रहरी नै असुरक्षित

नेपालखोज २०७७ साउन १४ गते १६:३३

काठमाडौं । विश्वभर कोरोना महामारीले भयाभह स्थिति सिर्जना भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपतकालीन संकट भएको चेतावनी दिइसकेको छ ।

नेपालमा केही समय स्थिर देखिएको कोरोना संक्रमणदर पुनः बढ्दै जाँदा फ्रन्टलाइनमा खटिने प्रहरीमा कोरोना संक्रमण हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयदेखि जिल्ला–जिल्लामा कार्यरत प्रहरी अधिकारीमा कोरोना संंक्रमण देखिन थालेको छ ।

देशभरका २०६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ९९ जना डिस्चार्ज भइ नियमित कार्यमा फर्किसकेका छन् भने हाल देशभर १०७ जना प्रहरी उपचाररत रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता नीरजबहादुर शाहीले बताएका छन् ।

नेपालमा लकडाउनको समयमा सामन्य देखिएको कोरोना संक्रमण लकडाउन खुलेसँगै बढ्न थालेको आंकलन गर्न थालिएको छ । लकडाउनले कोरोना संक्रमण फैलिन केही हदसम्म रोके पनि लामो समयसम्मको लकडाउनले नागरिकको जनजीवन अस्तव्यस्त हुन थालेपछि सरकारले साउन ६ गतेराति १२ बजेदेखि लकडाउन खुल्ला गरेको थियो । तर लकडाउन खुलेसँगै नागरिकको अवस्था सामान्य बन्दै गएको भएपनि कोरोना संक्रमणदर भने बद्दै जाँदा अवस्था भयावह हुन सक्ने आंकलन गर्न थालिएको छ ।

आइतबार मात्रै प्रहरी प्रधान कार्यालयमा कार्यरत चारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ३१ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ३५, उपत्यकाका ९, प्रदेश १ का २७, प्रदेश २ का ३६, गण्डकी प्रदेशका ४५, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिम प्रदेशका १२ गरि कुल २०६ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रदेशगत हिसाबले सबैभन्दा बढी गण्डकी प्रदेश र प्रदेश २ मा रहेको छ ।

प्रहरीमा संक्रमण देखिएपछि अहिले स्वास्थ्य परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायत काम अघि बढाइएको छ भने स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल अनुसार काठमाडौंको हकमा कोरोना पोजेटिभ आएका प्रहरीलाई बलम्बु अस्पताल र बाहिर जिल्लाको हकमा त्यहाँका स्थानीय सरकारले व्यवस्था गरेको अस्पतालमा पठाउने गरेको प्रवक्ता शाहीले बताएका छन् ।

हाल संक्रमण पुष्टि भइसकेका प्रहरीको सम्पर्कमा आएका अन्यमा पनि संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर कन्ट्याक ट्रेसिङको प्रक्रिया सुरु गरेको गरेको छ ।

पछिल्लो समय प्रहरी बढी संक्रमित हुनुको पछाडि आफ्नै लापरबाही रहेको भन्ने भनाइ आइरहँदा नेपाल सरकारको परिपत्रअनुसार प्रहरीले आफ्नो प्रोटोकल पूरा गरेका कारण धेरै कम जनशक्ति संक्रमित भएको र आफुहरुले अपनाएको प्रोटोकलले काम गरिरहेकाले आफुहरुबाट कुनै लापरवाही नभएको उनले बताए ।

हाल नेपालमा दैनिक करिब ४५ देखि ५० हजार प्रहरी परिचालन हुन्छन् । सेवाग्राहीले अपनाउनुपर्ने सावधानी नअपनाएकाले प्रहरी कोरोनाको मारमा पर्न थालेका छन् । भने फिल्डमा खटिने प्रहरीलाई चाहिने आवश्यक स्वास्थ्य सामाग्रीको परिपूर्ति नगरिदिँदा पनि प्रहरीमा बढी कोरोना संक्रमण देखिन थालेको छ ।

प्रहरी फ्रन्टलाइमा रहेर काम गर्ने सरकारको पहिलो निकाय हो । हाल नेपालमा करिब ७२ हजारको हाराहारीमा प्रहरी छन् । मुलुकभित्रको शान्ति सुरक्षा कायम गरी जनताको जिउधनको रक्षा गर्ने प्रहरीमा कोरोना देखिन थालेपछि नागरिक असुरक्षित महसुस गर्न थालेका छन् । यो अवस्थामा प्रहरीको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर हुनुपर्छ । कोरोनाको महाविपत्तिविरुद्ध लड्न उनीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका समाग्रीदेखि उनिहरुलाई प्रोत्साहन गर्नतिर सरकारको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया