शुक्रबार, वैशाख १२, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८० माघ १२ गते १५:१९

काठमाडौं । खोटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका–२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका–८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई सोही गाउँपालिका–८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका–१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको बनेपा नगरपालिका–७ धनेश्वर पुलमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित सडकमा लु.७६ प ८०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका–१ छहरा बस्ने ३२ वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित सडकमा ना.६ ख २३७३ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ७६ वर्षीया मेनका बर्तौलाको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका–३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय बिष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–४ वाङगेश्वरास्थित जंगलमा सोही गाउँपालिका–७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–६ नाल्बो बस्ने कर्ण प्रसाद तुम्बाहाम्फेको घरमा बिहीबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४४ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया