मंगलबार, वैशाख १६, २०८२

नेपाल र चीन प्राचीन ज्ञानका भूमिः प्रधानमन्त्री ओली

नेपालखोज २०८१ मंसिर १९ गते १२:४७

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक रऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गरे ।

विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार हुन्”, उहाँले भन्नुभयो, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।”

प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गरे । सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्र्दै उनले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड भएको आफूले पाएको बताए ।

उनले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताए । उनले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरुको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताए ।

‘हामीले हाम्रो हिस्साका अशान्ति र चुनौतीहरू भोगेका छौँ । हामीले अन्धकारपूर्ण चरण पनि देखेका छौँ । मानिसलाई अभाव र अत्याचारको सिकार हुँदै देखेका छौँ’, उनले भने, ‘यसको बाबजुद पनि आशा र ज्ञानका किरण र नवप्रवर्तनको प्रकाश हाम्रो क्षेत्रमा कहिल्यै मेटिएको थिएन । आजको एसियाको उत्थान र पुनरुत्थान यस सभ्यतागत आधारमा आधारित छ ।’

आज विश्वका कैयौँ देशले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनाको कुरा गरिरहेका छन्, तर विडम्बना धेरै विकसित राष्ट्रहरुमा पनि आजका दिनमा पनि मानिसहरु लोकतन्त्रका लागि लड्नु परिरहेको अवस्था रहेको उनको भनाइ थियो ।

‘लोकतन्त्र केवल एक राजनीतिक संरचना मात्रै होइन, एक सामाजिक प्रणाली पनि हो’, उनले भने, ‘यस्तो प्रणाली जसले प्रत्येक व्यक्तिको सम्मानको रक्षा गर्छ, असीम सम्भावनाको भावना प्रेरित गर्छ र सबैका लागि सुरक्षा र सुरक्षाको वातावरण प्रवद्र्धन गर्छ ।’

प्रतिक्रिया