महामारीको व्यवस्थापनमा नर्सिङ पेशाकर्मीको भूमिका
कुनैपनि महामारी एक अप्रत्याशित रुपमा आईपर्ने ‘स्वास्थ्य सङ्कट’ भएकोले यसबाट सिर्जना हुन सक्ने शारीरिक तथा मानसिक असरको व्यवस्थापनका लागि स्वास्थ्यकर्मीको सामूहिक प्रयत्न अत्यन्तै आवश्यक हुन्छ । विश्वव्यापी रुपमा स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिँदै फैलिएको ‘कोभिड–१९’ ले नेपालमा पनि भयावह स्थिति सिर्जना गरेको छ । आगामी दिनमा यसले कस्तो अनिष्ट परिणाम ल्याउला भन्नेबारे कसैले अनुमान गर्न सक्ने स्थिति छैन । ‘कोभिड–१९’ को समस्यासँग कसरी जुझ्ने भन्ने नै वर्तमान अवस्थामा सबैको लागि अहम् सवाल बनेको छ । यसको व्यवस्थापनमा समेत भूमिका निर्वाह गर्नुपर्ने भएकोले स्वास्थ्यकर्मीहरुका लागि त यो सवाल झनै महत्वपूर्ण छ । कोभिड–१९ का सङ्क्रमितहरुको उपचारमा अहिले सम्पूर्ण स्वास्थ्यकर्मीहरु आफ्नो जीवन दाउमा लगाएर भिडिरहेका छन् । अरुलाई सेवा दिने क्रममा सयौं स्वास्थ्यकर्मी आफै सङ्क्रमित भइसकेका छन् । स्वास्थ्यकर्मीहरुमध्ये पनि सङ्क्रमितहरुसँग दिनरात सँगै रहनुपर्ने नर्सहरु बढी प्रभावित भएका छन् । यस्तो अवस्थामा कोभिड–१९ सँग जुझ्न, यसको उचित व्यवस्थापन गर्न नर्सिङ सेवामा सङ्लग्न नर्सिङ पेशाकर्मीहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमाथि बहस हुनु जरुरी छ । यसै उद्देश्यसहित बहसको उठान गर्न यस लेखले योगदान गर्नेछ भन्ने अपेक्षा राखिएको छ ।
अनौठो संयोग नै मान्नुपर्छ, विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० लाई ‘नर्स तथा मिडवाइफ वर्ष’ भनेर घोषणा गरेलगतै ‘कोभिड–१९’ विश्वव्यापी रुपमा फैलियो र महाव्याधिको रुप लियो । यस लेख तयार पार्दासम्म (१० भाद्र २०७७) विश्वभर कोरोना भाईरसबाट २ करोड ४० लाख ८३ हजार ५०७ जना सङ्क्रमित भइसकेका छन् भने यसैका कारण ८ लाख २३ हजार ९१७ जनाको मृत्यु भइसकेको छ । नेपालमा पनि हालसम्म ३३ हजार ५३३ जना सङ्क्रमित भइसकेका छन् भने १६४ जनाले ज्यान गुमाउनु परेको छ । सङ्क्रमण र मृत्युको यस प्रक्रिया कहिलेसम्म जाने हो केही भन्न सकिने अवस्था छैन । तर, जतिसुकै भयावह भए तापनि सबै पेशाकर्मी र नागरिक मिलेर यस महाव्याधिसँग जुझ्नु नै पर्नेछ र यस समस्यालाई पार लगाउनु छ । मानव सभ्यताको इतिहासलाई हेर्ने हो भने मानवजातिले समाधान गर्न नसकेको कुनै समस्या छैन । यस कोभिड–१९ लाई पनि अवश्य परास्त गर्न सकिन्छ । त्यसको लागि कस्तो रणनीति अपनाउने र क–कसको भूमिका कस्तो हुनुपर्छ भन्ने वहसको भने आवश्यकता छ ।
स्वास्थ्य क्षेत्रका विविध सेवाहरुमध्ये एक महत्वपूर्ण नर्सिङ सेवा पनि हो । स्वास्थ्य सङ्कटको घडीमा एक जिम्मेवारी स्वास्थ्यकर्मीका हिसाबले नर्सिङपेशाकर्मीको भूमिमा झनै महत्वपूर्ण हुन्छ । नर्सहरु पेशाकर्मी मात्र नभई देशको जिम्मेवार नागरिक पनि हुन् । तसर्थ, पेशागत जिम्मेवारीलाई आत्मसात गर्न सक्नु नै आफ्नो पेशा र नागरिकप्रतिको धर्म पनि हो । कुनै पनि बिरामी उपचारको लागि स्वास्थ्य संस्थामा आईपुगेपछि उसँग सबैभन्दा बढी समय बिताउने नर्सहरु नै हुन्छन् । बिरामीको रोगको अवस्था, उसको मानसिक तथा सामाजिक–आर्थिक अवस्थाबारे सबैभन्दा बढी जानकार पनि नर्सहरु नै हुन्छन् । कोभिड–१९ सङ्क्रमितहरुको सवालमा पनि सङ्क्रमितको अवस्थाबारे सबैभन्दा बढी जानकार नर्सहरु नै हुन् । त्यसैले यस महाव्याधिको न्यूनीकरण र व्यवस्थापनमा नर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ भने नर्स उत्पादनमा भूमिका खेल्ने नर्सिङ विद्यालय, त्यहाँका शिक्षक, नर्सिङ विषय अध्ययनरत विद्यार्थीहरुको जिम्मेवारीबारे छलफल हुनु जरुरी छ । किनकि यो समस्या समाधानको लागि सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ ।
यहाँनेर नर्सिङपेशासँग आवद्ध को–को हुन्छन्, तिनको पेशागत जिम्मेवारी के हो र कोभिड–१९ जस्तो महामारीको समयमा तिनको भूमिका के हुन्छ भन्ने प्रश्नबारे छलफलका लागि नर्सिङपेशासँग सम्बन्धित सरोकारवालाहरुको भूमिकालाई तलको तालिकामा प्रस्तुत गरिएको छ :
नर्सिङ् पेशासम्बन्धी सरोकारवालाहरु | पेशागत जिम्मेवारी | महामारीको समयमा भूमिका |
– अग्रपङ्तिका नर्सहरु | – बिरामीको सेवा तथा हेरचाह गर्ने – असक्षम तथा अन्तिम अवस्थाका बिरामीको हेरचाह गर्ने – स्वास्थ्यको प्रवर्धन गर्ने – रोगका कारणहरुको रोकथाम गर्ने |
– पेशागत जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्ने – महामारीबाट सृजना हुने शारीरिक, मनोवैज्ञानिक र भैतिक समस्या समाधानको निम्ति योगदान गर्ने – कार्यअनुभवबाट सिकेर (प्राप्त अनुभव) नीति निर्मातासँग सेयर गर्ने |
– नर्सिङ विद्यालय – नर्सिङ विषयका शिक्षक |
– महामारीसँग सम्बन्धित विषयवस्तु पाठ्यक्रममा समावेस गरी यसका लागि आवश्यक सामग्री तयार पार्ने – महामारीसँग सम्बन्धित विषय (इतिहास, इतिहासको अनुभव) नर्सिङ विषयका विद्यार्थीहरुलाई सिकाउने – महामारीसँग जुझ्न नर्सिङ पेशाकर्मीहरुको जिम्मेवारी के हुन्छ भन्नेबारे सिकाउने – रोगका कारणहरुको रोकथामका विधि तथा प्रक्रिया सिकाउने |
– महामारीसँग सम्बन्धित विषयबारे अध्ययन अनुसन्धान गर्ने र यसको परिणाम नर्सिङ विषयका विद्यार्थीहरुलाई सिकाउने – महामारीको समयमा स्वास्थ्य संस्थामा गई अग्रपङ्तिमा रही सेवा दिने – महामारीका समयमा नर्सिङ विद्यार्थी र अग्रपङ्तिका नर्सहरुलाई भौतिक तथा मनोवैज्ञानिक सहयोग गर्ने |
– नर्सिङ विषय अध्ययनरत विद्यार्थी | – महामारीको समयमा स्वास्थ्य सेवा प्रदान गर्नेबारे अध्ययन गर्ने – महामारीका सम्बन्धमा विश्व–धारणा र अनुभवको अध्ययन गर्ने – महामारीको व्यवस्थापन विषयमा अनुसन्धान गर्ने – रोगका कारणहरुको रोकथाम गर्ने |
– महामारीको समयमा स्वास्थ्य संस्थामार्फत् सेवा दिन खटिने – महामारीबारे जनसमुदायलाई सचेत गराउने – अग्रपङ्तिमा कार्यरत नर्सहरुलाई मनोवैज्ञानिक सहयोग गर्ने |
– नर्सिङ् नेतृत्व वर्ग (नीति निर्माता) | – बिरामीलाई गुणस्तरीय सेवा दिनका लागि पैरवी गर्नुका साथै सुरक्षित वातावरणको व्यवस्था गर्ने – स्वास्थ्य सेवासम्बन्धी नीति निर्माण गर्ने – उपयुक्त स्वास्थ्य प्रणालीको व्यवस्थापन गर्ने – रोगका कारणहरुको रोकथामको लागि नीति बनाउने |
– महामारीको समयमा आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने (यसको लागि सम्बन्धित संस्थालाई घच्घच्याउने) – अग्रपङ्तिमा कार्यरत नर्सहरुलाई मनोवैज्ञानिक सहयोग गर्ने |
कोभिड–१९ को महामारीले गाँजेको वर्तमान अवस्थामा नेपालका नर्सिङ् पेशासँग आवद्ध माथिको तालिकामा उल्लेख गरिएका सरोकारवालाहरु सबैले आफ्नो जिम्मेवारी पुरा गर्न सकेका छन् त भन्ने प्रश्न महत्वपूर्ण छ । विविध कारणले गर्दा समस्या समाधानको लागि राज्यले ‘जस्तो नेतृत्वदायी भूमिका खेल्नुपर्ने हो सो पुरा गर्न सकेको छैन’ । नेतृत्वको अभाव देखिएको छ, जसको कारण यस्तो सङ्कटको अवस्थामा पनि स्वास्थ्य सेवा व्यवस्थित हुन सकेको छैन । कोभिड–१९ को वास्तविकताबारे समुदायलाई बुझाउन सकेको देखिँदैन । समुदायमा यसबारे गलत जानकारी भएकोले विभिन्न स्थानमा समुदायका केही जमातले स्वास्थ्यकर्मीहरुलाई लखेट्ने, धम्क्याउने र दूव्र्यवहार गर्ने कार्य भएको छ ।
माथि भनिएझैँ महामारीको यस्तो अवस्थामा कुनै पनि बहानामा नर्सिङ पेशाकर्मी पछि हट्नु हुँदैन । हिजो मात्र मोरङ जिल्लाको एक अस्पतालका ५५ जना नर्सहरुले आपूmले पाउनुपर्ने सुविधा नपाएका कारण संयुक्त राजिनामा दिएको खबर आएको छ, जुन कुरालाई पेशागत हिसाबले सही मान्न सकिँदैन । यसले पनि अहिलेको सङ्कटको अवस्थामा नर्सिङ पेशाका नेतृत्व तप्काले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको देखाउँछ । कोभिड–१९ को अवस्थालाई ध्यानमा राखी नर्सिङ पेशालाई प्रभावकारी बनाउन आकस्मिक नीति बनाईनुपथ्र्यो । नेपालका नर्सिङ सेवामा आवद्ध सम्पूर्ण पेशाकर्मीहरुलाई संयोजन गरी देशैभरी गुणात्मक सेवा दिनका लागि कार्यक्रम ल्याइनुपथ्र्यो । साथै, कोभिड–१९ का सङ्क्रमितहरुलाई प्रभावकारी सेवा दिन आवश्यक भौतिक पूर्वाधार व्यवस्थापनको लागि नर्सिङ पेशाका नेतृत्ववर्गले राज्यलाई आवश्यक सल्लाह सुझावका साथै सकारात्मक दवाव दिन सक्नुपथ्र्यो । केही महिना यताका दैनिक पत्रपत्रिकामा सरकारले ‘जनस्वास्थ्यविद्’हरुसँग पटकपटक अन्तरक्रिया गरेको पढ्न पाइन्छ, तर नर्सिङ पेशासम्बन्धी विज्ञहरुसँग छलफल भएको सुन्न पाइएको छैन ।
वर्तमान समयमा नर्सिङ विषय अध्यापन गराउने विद्यालयहरुको पनि भूमिका महत्वपूर्ण छ । सङ्कट व्यवस्थापनका लागि उनीहरुको सक्रियता बढ्नुपर्ने थियो । तर, उल्टै देशैभरीका नर्सिङ (र जनस्वास्थ्य) विषय पढाउने सबै विद्यालयहरु बन्द गरिएका छन् । महामारीको सङ्कटमा ती विद्यालयहरुले शिक्षकहरुलाई परिचालन गरी विभिन्न विषयमा अनुसन्धान गर्नुपथ्र्यो र सङ्कट व्यवस्थापनका लागि नीति निर्माता तथा स्वास्थ्य संस्थाहरुलाई सुझाव दिनुपथ्र्यो । देशभरी सञ्चालित नर्सिङ विद्यालयका शिक्षकहरु राज्यको लागि महत्वपूर्ण स्रोत हुन् । तिनको परिचालन अहिलेको महामारीसँग जुझ्न उपयोगी हुन सक्थ्यो ।
नर्सिङ विद्यालयहरुले शिक्षकहरुलाई परिचालन गरेर आफ्ना विद्यार्थीहरुलाई स्वास्थ्य निकाय र अस्पतालहरुसँग समन्वय गरी कोरोना सङ्क्रमितहरुको सेवाका लागि पठाउन सक्दथ्यो । ‘महामारीको समयमा सङ्क्रमितहरुलाई कसरी उपचार गर्ने’ भन्नेबारे सिक्नको लागि महत्वपूर्ण अवसर पनि थियो विद्यार्थीहरुको लागि । उनीहरुले प्रयोगात्मक अभ्यास गर्न पाउँथे र व्यवहारिक ज्ञान तथा सीप हासिल गर्न सक्दथे । तर, नर्सिङ् विषयका विद्यार्थीहरु यो अवसरबाट वञ्चित भएका छन् ।
त्यस्तै, विद्यार्थीहरुलाई आपूm बस्ने समुदायमा कोभिड–१९ बारे सचेतना जगाउने र यसबाट बच्नका लागि गर्नुपर्ने सरसफाई तथा अन्य सावधानीबारे जानका दिन परिचालन गर्न सकिन्थ्यो । उनीहरुलाई समाजमा बढ्दो निरासा र आत्महत्या जस्तो कुराहरुको रोकथामको लागि सामाजिक मनोविमर्श दिने कार्यमा लगाउन सकिन्थ्यो । यदि त्यसो गर्न सकिएको भए विद्यार्थीहरुले सचेतीकरण विधि र प्रक्रियाबारे सिक्न पाउँथे भने आमनागरिकमा सचेतना बढ्नुका साथै वर्तमान अवस्थामा आम मानिसमा देखिएको त्रासलाई कम गर्न सकिन्थ्यो । यसले राज्यको खर्च कम गराउनुका साथै सङ्कटको बेलामा सम्पूर्ण स्वास्थ्यकर्मी एकसाथ सक्रिय छन् भन्ने सन्देश पनि जान्थ्यो, जुन सकारात्मक समाज निर्माणको लागि अपरिहार्य हुन्छ ।
सङ्कट दिनानुदिन बढ्दो अवस्थामा छ । कोरोना भाइरसबाट स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित हुने क्रम जारी छ, जसको कारण उपचारका लागि मानवस्रोतमा कमी हुँदै गएको छ । स्वास्थ्य निकायको अगुवाइमा सम्पूर्ण नर्सिङ पेशाकर्मीहरुलाई परिचालन गर्न ढिलाई गर्नु हुँदैन । नर्सिङ विषय अध्यापन गराउने विद्यालयहरुसँग अन्तरक्रिया गरी नर्सिङ पेशाकर्मीको प्रभावकारी उपयोगबारे योजना बनाउनु पर्दछ । बन्दाबन्दीको कारण विद्यालयहरु बन्द भएको हुँदा देशैभरका नर्सिङ विषयका विद्यार्थीहरु आ–आफ्नो घरमा रोकिएका छन् । उनीहरुलाई कोरोनाबाट हुनसक्ने सङ्क्रमणको रोकथामका लागि आ–आफ्नो क्षेत्रमा सक्रिय गराउनु पर्दछ । उनीहरुलाई आपूm बसेको क्षेत्रबाट नजिकै रहेका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामार्फत् सेवा दिनका लागि प्रोत्साहित गर्नु पर्दछ । यसले द्रुतगतिमा बढ्दै गएको सङ्क्रमणको दरलाई रोक्न सकिन्छ ।
ढिलो नगरौं, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । राज्यको सम्बन्धित निकायले देशैभरका नर्सिङ पेशाकर्मी र यससँग सम्बन्धित संस्थाहरुसँग संयोजन गरी ठोस कार्यक्रम बनाई अगाडि बढेमा सहयोगका लागि सम्पूर्ण नर्सिङ पेशाकर्मीहरु जागरुकताका साथ तयार हुनेछन् । यसमा कुनै सन्देहः छैन । आखिर नर्सिङ पेशाको मुल धर्म पनि मानव सेवा नै त हो ।
“लामो समयदेखि नर्सिङ सेवामा आवद्ध लेखक हाल पूर्वाञ्चल विश्वलिद्यालयसँग आवद्ध नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज)मा नर्सिङ विषय प्राध्यापन कार्यमा सङ्लग्न छन्”
प्रतिक्रिया