मंगलबार, वैशाख १६, २०८२

संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

नेपालखोज २०८१ माघ ३० गते ७:४६

काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेकाे छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने । बैठकमा माउन्ट एभरेष्ट ब्रुअरीमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

महिला तथा सामाजिक मामिला समितिमा समितिको बैठक बिहान ११ बजे बस्ने छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया