शुक्रबार, वैशाख १२, २०८२

अनि नानिमैयाँहरु

जय प्रकाश आनन्द २०८१ माघ ३० गते १०:५८

ठुलाबडाका इतिहास लेखनको होडमा थोरै भएपनि सामान्य देखिईने तर ‘गेम चेन्जर’ हरूको स्थान सुरक्षित रहनु पर्दछ। यो एक अपेक्षा मात्र हो।

बाराणसीको मेहबूरगंजमा रहनु भएका गिरिजा प्रसाद कोईराला, सुशील कोईराला तथा चक्र बास्तोलाहरूका माझ बीपीको यौटा संक्षिप्त सन्देश पुगेको थियो। र तेहाँ चर्चा भयो-‘कस्तो हुनेछ यो रेफरेण्डम ?’ उहाँहरूले जनमत संग्रह भनेरै बुझ्नु भएको थियो।

न भन्दै, लगत्तै राजा बीरेन्द्रबाट ‘सुधार सहितको पंचायती व्यवस्था’ वा ‘बहुदलीय व्यवस्था’ छान्नका लागि आम नेपाली जनताका सम्मुख ‘जनमत संग्रह’ हुने घोषणा भयो। वि.स. २०३६/०३७ को ऐतिहासिक बिद्यार्थी आन्दोलनको क्रममा राजाबाट यो घोषणा भएको थियो। मेरो बिचारमा त्यो शाही घोषणा अप्रत्याशित थिएन। कट्टरपंथी पंचहरूको अपरिवर्तनीय सोचबाट मुलुकलाई निकास दिन राजाको बिचारित कदम थियो । यद्यपि यो अपेक्षित परिणाम दिएन। परिवर्तनका लागि चालिने हरेक कदम ठिक परिणाम दिदैन।

जनमत संग्रहमा थोरै मतको अन्तरले ‘बहुदलीय व्यवस्था’ को बिकल्प पराजित भयो। एक्लो नेपाली काँग्रेसले बहुदलको पक्षमा प्रचार गरेको थियो। केही साना वामपंथी समुहहरू तथा अरूहरू पनि बहुदलको पक्षमा देखिएका थिए। आजको एमाले तेस बेला माले नामबाट भूमिगत रहेका थिए, जो जनमत संग्रहलाई बहिष्कार गरेका थिए। आज यस बारे चर्चा हुन छोड्यो। तर, तेस बेला यो बिषय गंभीर रूपमा बहसमा थियो कि माले ले जनमत संग्रह बहिष्कार गरेर परोक्ष रूपमा पंचायती व्यवस्थालाई सघाएको थियो।

बीपी कोईरालाले जनमत संग्रहलाई स्वीकार गर्नु भएको थियो। तेसमा बहुदलको पराजयलाई पनि स्वीकार गर्नु भयो। गणेशमान सिंहले परिणामलाई स्वीकार गर्नु भएन। कालो ओढ्ने ओढेको आफ्नो तस्वीर सहितको पोष्टर छपाउन लगाई उहाँले जनमत संग्रहमा ठूलो धाँधली गरि पंचायती व्यवस्थालाई बिजयी गराईएको आरोप लगाईएको थियो। गणेशमान जीको यो मत तेस बेला लोकप्रिय थियो।

बीपी कोईरालाले गणेशमान जीका समक्ष एक प्रश्न वा जिज्ञासा राख्नु भएको थियो। बीपीको जिज्ञासा थियो- ‘२०१५ सालको पहिलो आम निर्वाचनमा संसदमा चार सीट जित्ने कम्युनिष्टहरू, जो आज संगठनात्मक रूपमा बढी बलिया पनि छन्, के पुरै मुलुक भरमा बालिग मताधिकारको आधारमा भएको जनमत संग्रहमा बहुदलका पक्षमा चारलाख मत पनि थप्न सक्दैन्थे त ?’ बीपीको स्पष्ट मत थियो, ‘बहुदलको पराजयमा तत्कालिन प्रधानमंत्री सूर्य बहादुर थापाले गरेको धान्धली त देखिएको कुरो हो, जबकि पंचायतसंग मालेको तारतम्य बहुदल पक्षको पराजयको न देखिएको सत्य हो।’ गणेशमान जी यसमा सहमत हुनु भयो।

बीपीको त्यो आशंका पछि गएर पुष्टि भयो, जब पंचायती व्यवस्था अन्तर्गत भएको राष्ट्रिय पंचायतको निर्वाचनमा वामपंथी कम्युनिष्टहरूबाट खुला रूपमा समर्थित जनपक्षिय भनिएका जागृत प्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठ चितौनबाट, द्रोणाचार्य क्षेत्री झापाबाट तथा केही अरूहरू पनि बिजयी हुनु भयो । मैले यति मात्र स्मरण गरेको हुँ कि-‘तेस बेला कम्युनिष्टहरूले पंचायती व्यवस्थालाई सघाएका थिए। सत्य यही हो। यद्यपि, यहाँ यस सानो आलेखमा मैले उठाउन खोजेको मूल बिषय भने यो होईन। बिट मारौं !

कुरो के हो भने पंचायती व्यवस्थामा भएको तेस कालखण्डका राष्ट्रिय पंचायतको चुनावमा अनेकन् बहुदल पक्षीय जनपक्षिय भनौं वा प्रजातन्त्रवादीहरू बिजयी हुनु भयो। अनेक स्वभावका, गंभीर अगंभीर अनेक पहिचानका झापाबाटै पुहातु चौधरी, मोरंगबाट उमेशजंग थापा, सप्तरीबाट गजेन्द्र नारायण सिंह, सर्लाहीबाट रामनारायण सिंह-लक्ष्मी सिंह, मकवानपुरबाट रूदाने रूपचन्द्र बिष्ट, काठमांडूबाट नानी मैया दाहाल र अरूहरू पनि।

पंचायती व्यवस्था खलबलियो। रामनारायण सिंहलाई थुनियो। उहाँकी श्रीमती लक्ष्मी सिंह जित्नु भयो। चितौनबाट जित्नु भएका भीमबहादुर श्रेष्ठलाई सिंहदरबार भितै ग्यालरी बैठक जहाँ रा.प. को बैठक हुन्थ्यो, तेसैका अगाडी कुटियो। गजेन्द्र नारायण सिंहले धोति लगाउनु भएको कारण देखाई रा.प.स. को शपथ ग्रहण गर्न दिईएन । यही क्रमका एक हुनुहुन्थ्यो-नानी मैया दाहाल। उहाँको पृष्ठभूमि अलिक फरक थियो। आफ्नो उम्मेदवारीमा पंचायत बिरोधीहरूको अहम् भूमिकाका बारेमा नानी मैया अबोध रहनु भएपनि पंचायतलाई चुनौतिको खाडलमा धकेल्न व्यवस्था बिरोधीहरूको प्रवल मतको हकदार नानी मैया हुनु भयो।

यो कथा,यस्ता कथाहरू तथा पंचायती व्यवस्थाको बिरोधका लागि अपनाईएका अनेकन् शैलीहरू, यसका नायकहरूको इतिहास अब शायद लेखिन्न्। आजको राजनीतिमा स्थापित नायकहरूका गाथाहरूले जन्माएका नैराश्यले नानी मैया वा यस्तै अरूहरूका इतिहासका स्मरणहरूलाई लेखनीमा रूपान्तरित हुन दिदैन होला। यी पात्रहरू पनि एक एक गरी हराउदै जानु भयो। यसै मध्येका नानी मैया पनि सबैको जाने गन्तव्य तिर जानु भयो।

याद राख्नेले संझिने छन्रा-ष्ट्रिय पंचायत सदस्यमा तपाईको जित ‘पंचायती व्यवस्थाको ताबूदमा एउटा काँटी ठोकिएको’ सरह थियो। नानी मैयालाई देखेर हाँस्नेहरू पनि थिए, झस्किनेहरू पनि, तेही बेला नानी मैयाहरूलाई देखेर जनताको बदलिदों सोचको आभाष पाउनेहरू पनि थिए ! नानी मैया ! बैकुण्ठ बास सुनिश्चित होस् !

प्रतिक्रिया