सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका-८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य ३ जनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ नेउलागंजस्थित सडकमा नेउलागंजबाट गुगौलीतर्फ जाँदै गरेको लु.९ प ३७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ गोबराह बस्ने ४० वर्षीय जनम बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभुत स्वास्थ्य अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रूपन्देहीको मायादेवी गाउँपालिका–७ बनगाईस्थित सडकमा लु.३२ प ८७३१ नम्बरको मोटरसाइकललाई लु.१ ज ४४६२ नम्बरको पिकअपले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कोटहीमाई गाउँपालिका–७ परसहवा बस्ने ३० वर्षीय दिलिप कुमार नाउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया