सोमबार, वैशाख १५, २०८२

पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरी : सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०८१ चैत २२ गते १६:३७

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप’ राष्ट्रिय खुला टी-२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आज उनले पोखरा खेलकुदको केन्द्र बन्ने प्रशस्त सम्भावना रहेकाले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिने बताए ।

उनले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष सरकारकोतर्फबाट बजेट व्यवस्था गर्नेसमेत प्रतिबद्धता जनाए ।

पोखरामा क्रिकेट, फुटबल जस्ता खेलका लागि ठूला पूर्वाधार निर्माण आवश्यक रहेको उनको भनाइ थियो ।

उनले प्रतियोगितामा भाग लिन आउने खेलाडी, क्लब, प्रशिक्षक, रेफ्रीलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिताबाट उम्दा र क्षमतावान् खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया