गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु

गाजा । गाजाको केन्द्रीय सहर डिर अल–बलाहमा आइतबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।
विभागका प्रवक्ता महमूद बसालले जानकारी दिँदै भने, एक सवारीसाधनमा गरिएका आक्रमणमा सात जनाको मृत्यु भएको छ, जसमा छ जना एउटै परिवारका थिए । घाइते भएकाहरूलाई डिर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली विमानले सवारीसाधनमा मिसाइल प्रहार गर्दा गाडीमा आगलागी भएको थियो । यस घटनाबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । यस्तै, डिर अल–बलाह नगरपालिकाको भवनमा गरिएको अर्को हवाई आक्रमणमा थप तीन जनाको ज्यान गएको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले यो आक्रमण पुष्टि गरेको छ ।
इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले भने, हमासको कमाण्ड केन्द्र लक्षित गरी आक्रमण गरिएको हो, जहाँ हमासका धेरै सदस्यहरू उपस्थित थिए । स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ देखि इजरायलले पुनः सैन्य कारवाही सुरु गरेयता गाजामा एक हजार ५७४ जनाको मृत्यु भइसकेको छ भने चार हजार ११५ जना घाइते भएका छन् ।
गाजामा द्वन्द्व सुरु भएको सन् २०२३ अक्टोबर ७ यता हालसम्म ५० हजार ९४४ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ भने एक लाख १६ हजार १५६ जना घाइते भएका छन् ।
प्रतिक्रिया