लेबनानमा इजरायली आक्रमण : दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको इजरायलको दाबी

बेरुत । लेबनानको दक्षिण क्षेत्रमा इजरायली आक्रमणका कारण बुधबार दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले हिजबुल्लाह समूहका एक लडाकुलाई मारिएको दाबी गरेको छ, यद्यपि दुबै पक्षबीच युद्धविराम जारी रहेको छ ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार वाडी अल–हुजैर क्षेत्रमा इजरायली ड्रोनबाट एक सवारीमाथि भएको आक्रमणमा एक जनाको मृत्यु भएको हो ।
यो स्थान इजरायलको सीमाबाट करिब १२ किलोमिटर टाढा पर्छ । त्यसपछि अर्को आक्रमण हानिन नामक गाउँमा भएको थियो, जहाँ एक जनाको मृत्यु र अर्को घाइते भएका छन् । इजरायली सेनाले कान्तारा क्षेत्रमा हिजबुल्लाहको ‘राडवान फोर्स’ का एक सदस्यलाई मारेको जनाएको छ ।
युद्धविराम नोभेम्बर २७ देखि लागू भएपनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । करिब दुई महिनाको खुला युद्धपछि उक्त युद्धविराम लागू भएको थियो ।
मङ्गलबार दक्षिण लेबनानको आइतारुनमा इजरायली आक्रमणमा घाइते भएका १७ वर्षीय युवकको पनि मृत्यु भएपछि त्यस हमलामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । इजरायलले उक्त हमलामा पनि हिजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयका अनुसार युद्धविराम लागू भएपछि इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ७१ सर्वसाधारणको मृत्यु भएको छ ।
सुरक्षा परिषद्को प्रस्तावअनुसार युद्धविरामपछि लेबनानको दक्षिण क्षेत्रमा केवल लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेना मात्रै रहनुपर्ने र हिजबुल्लाहले लिटानी नदीभन्दा दक्षिणबाट लडाकुहरू हटाउनु पर्ने शर्त राखिएको थियो ।
इजरायलले पनि आफ्ना फौजहरू फिर्ता गर्नु पर्ने भए पनि उसले अझै पनि रणनीतिक रूपमा महत्त्वपूर्ण ठानेका पाँच स्थानमा आफ्नो कब्जा कायम राखेको छ ।
यता, हिजबुल्लाहले लिटानी नदीभन्दा दक्षिणका २६५ सैन्य चौकीमध्ये १९० वटा लेबनानी सेनालाई सुम्पिएको स्रोतहरूले बताएका छन् । लेबनानी सेना अहिले ती क्षेत्रहरूमा तैनाथ भइरहेको छ । रासस/एएफपी
प्रतिक्रिया