पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग
काठमाडौं । समन्यायीक समाज नेपालले सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पुजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।
समाजका अध्यक्ष भक्त विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पूजाकुमारी घरबाट राति एक्कासि बेपत्ता भएपश्चात् घरदेखि एक किलोमिटर दक्षिणतर्फ तिनगक्षियोंमा यही वैशाख २ गते मङ्गलबार मृत भेटिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको हो ।
समाजले दलित महिलामाथि हुने यौन हिंसा र त्यसले जन्माएको मृत्युको दुःखद् घटनाप्रति विरोध गर्दै उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन नेपाल सरकार, प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।
त्यसैगरी, समाजले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–३ जगतपुर, दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माथि यौन दुव्र्यवहार तथा बलात्कार प्रयासपश्चात् आफ्नै माइतीघरमा झुन्डिएको अवस्थामा यही वैशाख ३ गते मृत फेला परेको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
पीडितले युवा २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबर्जस्ती करणी गर्न प्रयास गरेपछि प्रहरीमा उजुरी दिएको तर प्रहरीले जाहेरी लिन नमानेको देखिएको छ । उक्त घटनाको गम्भीर अध्ययन गरी दोषीलाई कारबाही गर्न समाजको आग्रह छ । रासस
प्रतिक्रिया