शनिबार, वैशाख १३, २०८२

प्रविधिमैत्री बन्दै कामपाका विद्यालय

नेपालखोज २०८२ वैशाख ६ गते ९:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ ।

कामपा-२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई वोर्ड हस्तान्तरण गरेका हुन् । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँमा सामान प्राप्त गरेको हो ।

उनले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताए । वडाबाट गरिएको लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । वडाध्यक्ष तिवारीले अपेक्षा राखे ।

शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो । वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताए ।

त्यस्तै कामपाले केही दिन अघिमात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो ।

कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड रुपैयाँ विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए ।

प्रतिक्रिया