‘वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्छ’

काठमाडौं । वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज यहाँ आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताए ।
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताए । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उनको गुनासो थियो ।
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताए । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राखे ।
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए । रासस
प्रतिक्रिया