शुक्रबार, वैशाख १२, २०८२

उद्योगमा कोभिडको असर कायमै

नेपालखोज २०८२ वैशाख ८ गते १४:२१

चितवन । कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थालेपनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारहरुको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घ वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताए । सञ्चालनमा रहेका ६० प्रतिशतमध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उनको भनाइ छ । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहेका कँडेल बैंकको ऋणका लागि मात्रै उद्योग चलाउने धेरै रहेको बताए । उनले भने, ऋण थप्दै जाँदा अहिले धितोले ऋण नधान्ने अवस्थामा पुगेको छ, यसले उद्योगमा ऋण लगानी गर्ने बैंकलाई पनि समस्या भएको छ, उनले थपे बल्लतल्ल उत्पादन सुरु भए पनि माग बढ्न नसकेको अवस्था छ ।

कच्चापदार्थ किन्ने पैसा नहुँदा कम क्षमतामा उद्योग सञ्चालन हुँदा घाटा चुलिँदै गएको उनले बताए । बढ्दो ऋणका कारण उद्योगको अवस्था कमजोर बनेको उनको बुझाइ छ । गत वर्षसम्म महँगो बैंक ब्याजले पनि उद्योगलाई अप्ठ्यारो पारेको थियो । मजदुरको बढ्दो ज्याला, महँगो ढुवानी, कच्चापदार्थको मूल्यवृद्धिलगायतका कारण नेपाली उत्पादनको लागत बढेको र विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ, कँडेलले बताए ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल कोरोनाकै कारण धेरै पोल्ट्री व्यवसायीले पेसा छाडिसकेको बताए । सञ्चालनमा रहेका अधिकांश उद्योग ऋणको मारमा रहेको उनको भनाइ छ । वर्षदिनमा एक पटक अण्डाले लागत मूल्य पाउँदा सरकारी निकायको ध्यानाकर्षण हुने भए पनि वर्षांसम्म नोक्सानमा काम गर्नुपर्दा राज्यले ध्यान नदिएको उनको गुनासो छ ।

भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ रोकिए मात्रै पनि यहाँका पोल्ट्री व्यवसायीलाई केही राहत मिल्ने उनको बुझाइ छ । यस्तै अवस्था रहेमा आत्मनिर्भर यो व्यवसाय समाप्त भएर जाने उनको दाबी छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे आधा होटल आर्थिक सङ्कटमा परेको बताए । होटल चल्नका लागि कम्तीमा औसतमा ६० प्रतिशत अकुपेन्सी हुनु्पर्छ तर हाल औसतमा ५० प्रतिशतभन्दा कममा सञ्चालन हुनुपरिरहेको अवस्था छ ।

प्रतिक्रिया