शुक्रबार, वैशाख १२, २०८२

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

नेपालखोज २०८२ वैशाख १२ गते ६:२३

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिए ।

मङ्गला गाउँपालिका-५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ”, उनले भने, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे ।”

उनको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पालेका छन् । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् । सापकोटाले प्रतिकिलो छ सय रुपैयाँका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बताए ।

मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका-२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन् । बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ । फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन् । बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउछन् ।

सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्छन् । फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

याे फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो । परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।

सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो । दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ । बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उनको योजना छ ।

प्रतिक्रिया