शनिबार, वैशाख १३, २०८२

एमएडब्लु सञ्चालक अग्रवालको बदमासी : डेढ करोडको गाडी कब्जा

नेपालखोज २०८२ वैशाख १३ गते १३:१८

काठमाडौं । एमएडब्लु इन्टरप्राईजेजका मालिक विष्णुकुमार अग्रवालले डेढ करोडको सुविधा सम्मपन्न गाडी कब्जा गरेको आरोप लागेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पीडित निरज केसीले २०८१ असोज १७ गतेदेखि सो इन्टरप्राईजेजले कब्जामा लिएको बताएका हुन् ।

बैंकबाट किस्ताबन्दीमा किनेको बा २५ च २६६२ नम्बरको जीप कम्पास गाडी असोज महिनादेखि सर्भिसिङको नाममा कम्पनीले कब्जा गरिराखेको केसीले बताए । केसीका अनुसार २०८१ असोज १२ र १३ गते काठमाडौंलगायतका ठाउँहरुमा परेको वर्षामा घरमा पार्किङ गरिरहेको अवस्थामा गाडीमा सामान्य पानी पसेको थियो ।

पानी पसेको जानकारी गरेपछि कम्पनीकै व्यक्ति घरमै पुगेर एमएडब्ल्यूको अधिकारीक सर्भिस सेन्टर लाईफ अटो मोबाईल बसुन्धाराले लगिएको थियो । सुरुमा सामान्य क्षतिमात्रै भएको बताउँदै केही दिनमै मर्मत गरेर गाडी केसीलाई हस्तान्त्रण गर्ने जानकारी गराइयो । तर, अहिलेसम्म आफूले गाडी नपाएको केसीले गुनासो गरे । आफूले गाडी माग्दा उल्टै कम्पनीका आधिकारिक व्यक्तिहरुबाट धम्की आउने गरेको केसीले बताए ।

“बाढीमा गाडीमा सामान्य पानी पसेपछि मैले कम्पनीलाई जानकारी गराएँ, कम्पनीको नियमअनुसार उतैबाट आएर ९ हजार तिराएर गाडी लिएर गएको ८ महिना भइसक्दा पनि मैले गाडी पाएको छैन । सुरुका केही दिनसम्म नयाँ गाडी दिनुहुन्छ भन्थे, न मेरो गाडी बनाएर दिए न नयाँ” केसीले भने ।

गाडीका लागि कुरा गर्दा तल्लोतहका कर्मचारीदेखि सिइयोलाई पटकपटक आग्रह गर्दा जे सक्छस् गर भन्ने जवाफ दिने गरेको केसीले बताए । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत रहेका एमएडब्लुका मालिक विष्णु कुमार अग्रवालको पछाडि ठूलो शक्तिको हात रहेकोसमेत केसीको आरोप छ ।

केसीले सो कम्पनीले करछलि गरेको आशंकासमेत गरेका छन् । अग्रवालको एमएडब्लु इन्टरप्राईजेजले यामाहाको स्कुटर, बाईक, जेसीबी, जीप, स्कोडालगायतका उच्च सुविधा सम्पन्न सवारी साधनहरुको आधिकारिक बिक्रेता कम्पनी रहेको छ ।

प्रतिक्रिया