शनिबार, वैशाख १३, २०८२

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

नेपालखोज २०८२ वैशाख १३ गते १४:४५

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले बुद्धले देखाएकाे अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको पनि बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको अवस्थामा युद्ध गर्नका लागि, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट सबै ठाउमा युद्ध गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएका छन्, विश्वशान्तिका लागि चुनौती बनेका बताए ।

उनले बौद्धधर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवद्र्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए । उनले लुम्बिनीमा बुद्धका विचारहरुका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराए ।

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया