मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

धरान (सुनसरी) । यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहनुभएको छ । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, भट्टराई ।
‘बुवाकै सल्लाहमा विसं २०७२ मा मौरीपालन सुरु गरको हुँ’, उनले भने । हाल ६२ घार मौरी उनले पालेका छन् । वार्षिक नौ देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए । सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ ।
मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार÷पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ । भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहनुभएको छ । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ ।
घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ । मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ ।
प्रतिक्रिया