मंगलबार, वैशाख १६, २०८२

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

नेपालखोज २०८२ वैशाख १६ गते १०:५६

सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो ।

यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो । सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको हो । अब यसमा कसैको अवरोध रहँदैन, उनले भने, सर्वपक्षीय सहमतिअनुसार सडक निर्माण सम्पन्न भएपछि उक्त सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनःस्थापना गर्न सकिने छ । कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ ।

यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ संरचना निर्माणका लागि सडकको बीच भागमा रहेको मधेस आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सम्झनामा निर्मित स्मारकको कारण समस्या हुँदै आएको थियो । उक्त स्मारक व्यवस्थापन गर्ने सहमति जुटेसँगै अब सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्रगतिमा विकास गरिने निर्माण कम्पनीले जनाएको छ ।

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिरहा)का प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाको अनुसार बजार क्षेत्रअन्तर्गत मिर्चैयामा ‘ओभरपास’ निर्माणका लागि चाहिने २४ वटा पाइल फाउन्डेसनमध्ये १६ तयार भइसकेको छ । तर लहानको मुख्यचोकमा रहेको सहिदपार्क नहट्दा अहिलेसम्म एउटा पनि पाइल फाउन्डेसन निर्माणको कार्य सुरु भएको छैन । सूचना अधिकारी कोइरालाले भने, उक्त सहिद स्मारक अन्यन्त्र सार्नका लागि लहाननगरपालिकालाई लामो समयदेखि ध्यानाकर्षण गराउँदै आएका थियौँ ।

हिजो उक्त स्मारकलाई त्यहाँबाट स्थानान्तरण गर्ने निर्णय भएसँगै अब तीव्रगतिका साथ सडक निर्माणको काम अघि बढ्छ । उनका अनुसार यस आयोजनाको पश्चिम खण्ड कुशहाबाट कमलासम्मको ४७.४१ किलोमिटर सडक निर्माणको प्रगति विवरण हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०२५ डिसेम्बर ३१ सम्म यस आयोजना सम्मन्न गरिसक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ ।

प्रतिक्रिया