बुधबार, वैशाख १७, २०८२

नेपालका घोडचढी सालिकहरूको इतिहास

नेपालखोज २०८२ वैशाख १६ गते १६:३०

११८ वर्ष अगाडि आजकै दिन वि.सं. १९६४ बैशाख १६ गते श्री ३ चन्द्र शमशेरले आफ्ना दाजु वीरशमशेर राणाको घोडचढी सालिक वीर अस्पताल अगाडीको चोकमा स्थापना गराएका थिए ।

घोड चढी सालिकको कुरा गर्दा यसको इतिहास ग्रीसबाट आएको देखिन्छ । विश्वको पहिलो घोड चढी सालिक रोमन सम्राट मार्कस ओरलसको भन्ने बुझिन्छ । यो सालिकमा घोडामा राखिने काठीको पनि आविष्कार भइसकेको थिएन । तसर्थ सम्राटको दुवै खुट्टा लट्कीएको देख्न सकिन्छ ।

नेपालको प्रसंगमा कुरा गर्नुपर्दा राणा प्रधानमन्त्री जङ्गबहादुरको सालिक वि.सं. १९४१ चैत १४ मा सुन्धाराबाट पूर्व रहेको चोकमा राखिएको थियो । यो सालिक अंग्रेज मुर्तिकार थोमस ब्रकले बनाएका थिए । यस मुर्तिलाई काठमाडौ सम्म पुर्याउन झण्डै ६ महिना लागेको थियो । रणोद्वीप सिंह कुंवरले सो सालिक उद्घाटन गरे लगत्तै बागबजार चोकमा राखिएको आफ्नो सालिक पनि उद्घाटन गरेका थिए । रणोद्वीप सिंह कुंवरको घोडचढी सालिक पनि तिनै मुर्तिकार थोमस ब्रकले नै बनाएका थिए ।

यसपछि तेश्रो घोडचढी सालिक धीरशम्शेर राणाको बनाइएको थियो । बि.सं. १९५० फागुन १८ गते प्रधानमन्त्री श्री ३ वीरशम्शेरले आफ्नो बुबाको सो सालिक न्यूरोड ठूलो ढोकाको ठीक अगाडी स्थापना गराएका थिए । त्यस्तै राजा पृथ्वी वीर बिक्रम शाहको घोडचढी सालिक वि.सं. १९८६ फागुन २ गते राजा त्रिभुवनले अनावरण गरेका थिए ।

श्री ३ वीर शमशेरले आफ्नो सालिक पनि बुबा धिरशमशेरको सालिकको साथ बनाएर नेपाल ल्याएका थिए । तर उनले आफ्नै जीवनकालमा सालिक स्थापना गर्न खोजेनन् । अझ भनौ भने अनावरण गर्न चाहेनन् । त्यसैले यो सालिक जमल चोकमा कपडाले छोपेर राखिएको थियो । पछि उनको मृत्युपछि भाइ तथा तत्कालिन प्रधानमन्त्रि श्री ३ चन्द्र शमशेरले वि.सं. १९६४ बैशाख १६ गते आफ्ना दाजुको घोडचढी सालिक वीर अस्पताल अगाडीको चोकमा स्थापना गराएर अनावरण गरेका थिए ।

प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेर राणाले पनि आफ्नो सालिक आफ्नै जीवनकालमा बनाउन लगाएका थिए । तर दुर्भाग्य उनको सालिक ल्याएको पानीजहाज समुन्द्रमा डुब्न पुग्दा समुन्द्रमा सालिक पनि डुब्न पुग्यो । पछि सोही कम्पनीले अर्को सालिक बनाएर पठाउँदा सम्म चन्द्रशम्शेरको मृत्यु भए पनि उनका भाइ भिमशम्शेरले उनका घोडचढी सालिक वि.सं. १९८६ का अन्त तिर हालको न्युरोड अगाडीको चोकमा स्थापना गराएका थिए ।

वि.सं. २००५ जेठ ३१ गते जावलाखेल चोकमा प्रधानमन्त्री श्री ३ मोहनशम्शेरले श्री ३ जुद्धशम्शेर राणाको घोडचढी सालिक अनावरण गरेका थिए ।

पछि राजा महेन्द्रले जननिर्वाचीत सरकारलाई हटाइ पंचायती ब्यबस्था ल्याए पछि रानी एलिजाबेथको नेपाल भ्रमण पूर्व २०१७ सालको फागुनमा सडकको बिचमा निकै शोभा दिइएका यस्ता घोडचढी सालिकहरूलाई पुरानो स्थानबाट अन्यत्र सारेका थिए ।

विश्वभर घोडचढी सालिकलाई निकै महत्वपूर्ण मानिन्छ । यसको सुरक्षा तथा सम्भार निकै गर्ने गरिन्छ । तर हाम्रो देश नेपालमा यस किसिमको सालिकलाई सम्पदा होइन कि राणा शासनको चिनोको रूपमा हेला गरिन्छ । सर्वसाधारणको दृष्टी नपर्ने ठाउँमा ओझेल पार्ने कोशिस गरिन्छ ।

प्रतिक्रिया