‘विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’

राँझा (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ ।
छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा सिकलसेलका बिरामीको लागि १६ शय्याको छुट्टै वार्ड सञ्चालमा आएको छ । सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीले शय्याका नपाउने समस्या अन्त्य भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए ।
सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीलाई शय्याका नपाउने र उपचारका लागि पालो पर्खिनुपर्ने समस्या हटेको छ, मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले भने, अहिले सिकलसेलका बिरामीले सहज रूपमा उपचार पाइरहेका छन् ।
भेरी अस्पतालमा सिकलसेल एनिमियाको जाँच निःशुल्क हुनुका साथै सिकलसेल एनिमिया भएको प्रमाणित भएका बिरामीले विभिन्न समयमा गरी एक लाख बराबरको औषधि र जाँच सेवा पाउने व्यवस्था रहेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेका कारण उपचार सेवामा सहजता भएको मेडिकल सुपरिटेन्डेन्ट सुवेदीले बताए ।
सिकलसेल एनिमिया रोग थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । सिकलसेल रोगबाट पीडित बारबर्दिया नगरपालिका, बर्दियाका दीपक थारूले भेरी अस्पतालमा छुट्टै वार्ड सञ्चालन हुँदा धेरै राहत मिलेको बताए ।
भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लाका एक हजार ११२ सिकलसेलका बिरामीले उपचार सेवा लिइरहेको सिकलसिल परामर्शदाता उषाकुमारी वलीले बताए । उनका अनुसार, यो सङ्ख्या २०७२ सालदेखि हालसम्म विभिन्न अस्पतालका प्रयोगशालामा परीक्षण गर्दा सिकलसेल एनिमिया पुष्टि भई उपचारका लागि भेरी अस्पतालमा दर्ता भएका बिरामी हुन् ।
अस्पतालमा उपचारका लागि आउने सिकलसेल एनिमियाका बिरामीलाई तालिमप्राप्त स्वास्थ्यकर्र्मीबाट रोगका बारेमा मनोसामाजिक परामर्श दिनुका साथै उनीहरूले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता वलीले जानकारी दिए ।
बाँकेको कोहलपुरमा पनि २०७७ साल चैतदेखि सिकलसेल एनिमिया जाँच हुँदै आएको छ । हालसम्म १३ हजार ५०० जनाको जाँच गर्दा ७० जनामा सिकलसेल एनिमिया पुष्टि भएको कोहलपुर नगर अस्पताल ल्याबका सिकलसेल स्रोत व्यक्ति शिव गौतमले जानकारी दिए ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि सिकलसेल एनिमिया प्रभावितहरू रहेका छन् । स्वास्थ्य केन्द्रहरूमा स्क्रिनिङ शिविर सञ्चालन गर्दा सात जना सिकलसेल बिरामीको पुष्टि भएको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।
प्रतिक्रिया