मंगलबार, वैशाख १६, २०८२

पीएम कपको सेमिफाइनल समिकरण पूरा

नेपालखोज २०७७ पुष १६ गते २१:००

दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बिहिबार समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४० रनले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी लक्ष्यलाई पछ्याएको गण्डकीले निकै खराब ब्याटिङ गर्ने क्रममा ८ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ७ रन बनायो । उसका लागि कुसुम गोदार र सोनिया थापाले २-२ रन बनाउनु बाहेक अन्य खेलाडीले खाता खोल्न समेत सकेनन् ।

बलिङतर्फ प्रदेश १ का लागि संगीता राई एक्लैले ५ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र ३ रन खर्चिएर उक्त विकेट लिन सफल भएकी थिइन् । यस्तै शबनम राईले ४ विकेट र अप्सरी बेगमले पनि १ विकेट लिएकी थिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय पारी खेलेका थिए । जस अन्तर्गत अविजित रहेकी काजलले ५७ बलमा ४ चौकासहित ५२ रनको योगदान गरिन् । यस्तै उनलाई साथ दिएकी रोमाले पनि अविजित रहदै ४९ बलमा ८ चौकासहित ५१ रन बनाइन् ।

त्यसअघि ६.४ ओभरमा टिमको स्कोर ३६ रन हुँदा कुसुम गोदारको बलमा आउट हुन् पुगेकी कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान गरेकी थिइन् ।

अब शनिबार हुने प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’को विजेता विभागीय टोली एपीएफले समूह ‘बी’को उप –विजेता सुदूर पश्चिमसँग खेल्नेछ । भने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता प्रदेश १ ले समूह ‘ए’ को उप –विजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।

यता प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप-विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया