आइतबार, वैशाख १४, २०८२

वसन्त सिजनको पर्वतारोहणका लागि परमिट जारी गरिँदै

नेपालखोज २०७७ चैत ३ गते ५:३३

काठमाडौं । यस वर्षको स्प्रिङ (वसन्त) सिजनमा हुने पर्वतारोहणका लागि परमिट जारी सुरु गरिएसँगै आरोहण दल तथा पर्वतारोहीको सुरक्षाका लागि आवश्यक तयारी थालिएको छ । पर्यटन विभागले २०२१ को स्प्रिङ सिजनका लागि दुईओटा आरोहण दलका लागि परमिट जारी गरिसकेको छ । यससँगै पर्वतारोहण गराउँदै आएका संस्थाहरूले पर्वतारोहीको सुरक्षा तथा आरोहण सहज बनाउन तयारी सुरु गरेका छन् ।

विभागले यो सिजनको शुरुआतमै ७ हजार ८६४ मिटरको नुप्त्से हिमाल र ८ हजार १६३ मिटरको मनास्लु हिमाल आरोहणका लागि दुईओटा दललाई परमिट जारी गरेको छ । ती दलबाट ५ जनाले ती हिमाल आरोहण गर्नेछन् । विभागका अनुसार नुप्त्से हिमाल ४ जना र मनास्लु हिमाल १ जनाले आरोहण गर्नेछन् । यसबाट विभागले कुल ४ लाख ९१ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ । गत वर्ष २०२० को यस सिजनमा पर्वतारोहण शून्य थियो । कोरोना महामारीका कारण २०२० को वसन्त सिजनमा हिमाल आरोहण भएको थिएन ।

तर, २०२१ को यस सिजनमा भने पर्वतारोहणका साथै स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकलसमेत पर्वतारोहणमा आउनेहरूले पालना गर्नुपर्नेछ ।

विभागकी निर्देशक मीरा आर्चायले सगरमाथा आरोहणका लागि २५० देखि ३०० सम्म पर्वतारोही आउने आकलन गरिएको जानकारी दिइन् । उनका अनुसार मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकल, रेस्क्यु टिम तथा अन्य आवश्यक सुरक्षाका पक्षमा पनि विगतजस्तै ध्यान दिएको बताइन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले गत वर्षको यस सिजनमा आरोहण नभए पनि यो वर्ष भने हुने सम्भावना देखिएकाले आवश्यक तयारी गरिरहेको जानकारी दिए । खासगरी हिमाल आरोहणका बेला हुने सम्भावित जोखिमबाट बच्न र सुरक्षित आरोहण गराउन आइसफल डाक्टर र रोप फिक्सिङका लागि सम्बन्धित संस्था तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

हिमाल आरोहणका क्रममा रुटमा आइस ब्रेक भएर हुने खाडल पार गर्न भ¥याङको सहायता लिनुपर्ने हुन्छ । त्यसका साथै जमेको आइसलाई ब्रेक गरेर बाटो पनि सहज बनाउने काम आइसफल डाक्टरले गर्छन् । नेपालमा पर्वतारोहण गर्न विदेशी पर्यटक पर्खेर बसे पनि यहाँको क्वारेन्टाइन व्यवस्थाले केही अन्योल अवस्था रहेको लामाको भनाइ छ । यद्यपि क्वारेन्टाइन व्यवस्थालाई ७ दिनबाट ५ दिनमा झार्न र त्यसलाई कम गराउन सकिने विषय अहिले मन्त्रिपरिषद्मा गएकाले छिट्टै निर्णय हुने उल्लेख गरिएको छ ।

विभागका अनुसार २०१९ को स्प्रिङ सिजनमा ११५ दलबाट ८८९ पर्वतारोहीले नेपालका विभिन्न हिमाल तथा पिक आरोहण गरेका थिए । त्यसमध्ये सगरमाथा मात्रै ४७ दलबाट ३९३ सदस्यले आरोहण गरेका थिए । २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोेषणा गर्दा यो संख्या अझ बढ्ने सम्भावनाका बीच कोरोना महामारीपछि परमिट लिएका ५ दलका १३ सदस्यले हिमाल आरोहण गर्न पाएका थिएनन् ।

अभियान दैनिकमा खबर छ ।

प्रतिक्रिया