काेराेना राेकथाम गर्न दिल्लीमा रात्रिकालीन कर्फ्यु

काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा आजदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । राति दश बजेदेखि बिहान पाँच बजेसम्मका लागि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ । दिल्ली सरकारका अनुसार यो कर्फ्यु अप्रिल ३० सम्म लागू हुनेछ ।
सोमवार दिल्लीमा तीन हजार पाँच सय ४८ जना कोरोना सङ्क्रमित थपिएका थिए, त्यस्तै १५ जनाको ज्यान गएको थियो ।योसँगै दिल्लीमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ७९ हजार नौ सय ६२ पुगेको बीबीसीले जनाएको छ । अहिले दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय ८९ रहेको छ ।
यद्यपि स्वास्थ्यकर्मीहरूका लागि रात्रिकालीन कर्फ्यु लागू नहुने दिल्ली सरकारले जनाएको छ । साथै एअरपोर्ट, रेल स्टेशन या बस स्टेशन जानेहरूले टिकट देखाउनुपर्नेछ । यस्तै अत्यावश्यक सेवामा पनि कर्फ्यु लागू नहुने जनाइएको छ । भारतमा केही हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढ्न थालेको छ । गएको २४ घण्टामा ९६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया