सोमबार, वैशाख १५, २०८२

महोत्तरीको एउटै बस्तीमा ४० संक्रमित

नेपालखोज २०७८ वैशाख ३० गते १०:४२

महोत्तरी । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-५ को चेरु ग्रामीण बस्तीमा कोभिड-१९ संक्रमण दिनदिनै बढेपछि त्रास बढेको छ ।

बस्तीमा यही वैशाख १७ गते भएको विवाह समारोहयता संक्रमण हुनेक्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी संक्रमण पुष्टि भइसकेको छ । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा संक्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

पूर्व–पश्चिम राजमार्गबाट ६–७ किलोमिटर उत्तर चुरे पहाडी शृंखलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता संक्रमण ह्वात्तै बढेको हो । बस्तीका ४० जनामा पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए ।

बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्तीकेन्द्रित स्वाब संकलन र परीक्षण थालिएको थियो । जाँच परिणामबाट बस्तीमा संक्रमण जोखिम निकै बढेको पाइएको यादवको भनाइ छ । संक्रमण बढेपछि बस्तीमा आम सर्वसाधारण त्रासमा परेसँगै सचेत पनि हुँदै गएका स्वास्थ्यकर्मीको ठम्याइ छ ।

ग्रामीण परिवेशको सो बस्तीमा स्वास्थ्य सचेतना नअपनाइँदा संक्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । बर्दिबास नगर क्षेत्रमा वैशाख महिनाभित्र १०० को हाराहारीमा संक्रमण पुष्टिका घटनामध्ये अन्य वडा, बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ ।

पछिल्लो एक–दुई दिनयताचाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य संघले जारी गरेका सूचना प्रभावले सामूहिक हिँड्डुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउँछन् ।

यसबीचमा संक्रमण देखिएका बस्तीमा सघन स्वाब परीक्षण, सचेतना प्रवाह र आइसोलेसनकक्षको व्यवस्थापनमा जुटिएको कार्कीको भनाइ छ । रासस

प्रतिक्रिया