संसद्मा आजदेखि दोस्रो चरणको खोप

काठमाडौं । संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आज (शुक्रबार) देखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । संघीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका हिजो (बिहीबार) सार्वजनिक गरेको हो । पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक-फरक बार तोकिएको छ ।
पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ साताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।
सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा उपाध्यक्ष र संघीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको छ । यस्तै आजै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ ।
यस्तै भोलि (शनिबार) भने संघीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र संघीय संसद् भवन बानेश्वर (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) का कर्मचारीलाई खोप लगाइनेछ । यस्तै, पर्सि (आइतबार) स्वकीय सचिवलगायत सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई खोप लगाइनेछ ।
सर्वोच्च अदालतको फैसलाले पुन:स्थापित भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन प्रारम्भअघि सांसद तथा अन्य सरोकारवाला पक्षलाई पहिलो चरणमा खोप लगाइएको थियो । फागुन १९, २० र २१ गते कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइएको थियो ।
-फाइल तस्बिर
प्रतिक्रिया