शुक्रबार, चैत १६, २०८०

घसियारनका लागि सभागृह र घाँस बिक्रीस्थल निर्माण हुँदै

नेपालखोज २०७६ फागुन १५ गते १३:५०

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ८ मा रहेको घाँसमण्डीलाई व्यवस्थित गर्ने भएको छ । घाँसमण्डी रहेको स्थानमा घसियारनलगायतका विपन्न समुदायको प्रयोगका लागि सभाहल र घाँस बिक्रीस्थल निर्माण गर्न लागिएको छ । सभाहलसँगैको तोकिएको स्थानमा घसियारन समुदायले घाँस बिक्री गर्न पाउनेछन् ।

उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आज घाँसमण्डी सभाहल निर्माणको शिलान्यास गरे। घसियारनलगायत विपन्न समुदायको विवाहलगायत अन्य कार्यमा प्रयोग गर्ने मुख्य उद्देश्यले सार्वजनिक सभाहल निर्माण गर्न लागिएको वडा नं ८ का अध्यक्ष सुरेन्द्र वैश्यले जानकारी दिए ।

निर्माणका लागि रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी दिँदै वडाध्यक्ष वैश्यले यस वर्ष १० लाखमा काम शुरु गरिएको बताए । नेपालगञ्जका सीमान्कृत घसियारन समुदायलाई घाँस काट्ने जाति भनेर चिनिन्छ । यो समुदायका व्यक्ति घाँस काटेर बेच्ने र आफ्नो जीविकोपार्जन गर्ने गर्दछन् ।

घसियारन समुदायको नेपालगञ्ज वडा नं ८ मा बसोबास छ । यो समुदायका व्यक्ति शिक्षाको पहुँचबाट टाढा नै छन् । उक्त वडामा घसियानर समुदायको ३२ घरधुरी छ । अहिले पनि यो समुदायका व्यक्ति घाँस काटेर र दुना टपरी गाँसेर आफ्नो दैनिकी चलाइरहेका छन् ।

“पुर्खादेखि नै यही पेशा अपनाइएपछि आफूहरुले पनि घाँस काटेर बिक्री गर्ने कामलाई नै निरन्तरता दिँदै आएको हो”, घसियारन चप्पावतीले भने, “अरु केही पेशा गरौँ भन्ने चाहना छ, तर पर्याप्त रकम नभएकाले घाँस काटेर बेच्नुबाहेक अरु विकल्प पनि त छैन ।”

घसियारन भनेर चिनिने समुदायको घाँस काटेर बिक्री गर्ने नै मुख्य व्यवसाय हो । महिला अरुका घरमा घाँस काट्ने र जङ्गलबाट ल्याएको दुुना टपरी गाँस्ने गर्दछन् भने पुरुष अर्काको मजदुरी गरेर आफ्नो परिवारका आवश्यक्ता पूर्ति गर्दछन् । यो समुदाय शिक्षाको पहुँचभन्दा टाढा रहेको छ ।

कसै–कसैले घुम्ती तथा ठेलागाडा पसल पनि सञ्चालन गरेको पाइन्छ । धेरैजसो महिला घरको काममा हुन्छन् भने पुरुष फर्निचर, इँटा गारोको काम गर्ने गर्दछन् । घसियारन बसोबास गर्ने नेपालगञ्ज वडा नं ८ कार्यालयले उनीहरुको जीवनस्तर माथि उठाउन आर्थिक आयआर्जनको योजना बनाएको वडाध्यक्ष वैश्यले बताउए ।

प्रतिक्रिया