कोरोना जोखिम : दैलेखका सबै नाका सिल

नेपालखोज २०७७ वैशाख २३ गते १४:२१

दैलेख । कोरोना संक्रमणको जोखिम रहेको भन्दै दैलेख जिल्लाका सीमानाका सिल गरिएको छ । नेपालगंजमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दैलेखमा पनि कोरोनाको जोखिम रहेको भन्दै सीमानाका सिल गरिएको छ ।

सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरे पनि नेपालगन्जबाट जिल्ला आउनेको संख्या नरोकिँदा दैलेखमा जोखिम बढेको हो । सरकारले गरेको लकडाउनकै अवधिमा करिब ३ हजार नागरिक दैलेख भित्रिएका छन् ।

बाँकेको नेपालगन्जहुँदै धेरै नागरिक दैलेख भित्रिएकाले जिल्लाबासी त्रसित भएका हुन् । अलपत्र नागरिकलाई नेता, सांसद र मन्त्रीले हुलका हुल गाडीमा जिल्ला पठाए पनि परीक्षण नगरी परिवार र समाजको सम्पर्कमा गएकाले जोखिम बढेको हो ।

नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै दैलेखमा विशेष कडाइ गरिएको छ । लकडाउनपछि नेपालगन्ज हुँदै धेरै व्यक्ति भित्रिएको भन्दै स्थानीय प्रशासनले कडाइ गरेको हो । छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखिएपछि दैलेख जिल्लालाई पूर्णरुपमा सिल गर्ने निर्णय गरिएको छ ।

दैलेख प्रवेश गर्ने सबै नाका सिल गर्ने निणर्य गरिएको हो । हालसम्म कोरोना संक्रमण नदेखिएको दैलेखलाई सुरक्षित राख्न जिल्ला सुरक्षा समितिको बैठकले सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया