बिहीबार, चैत १५, २०८०

भारतीय फिल्म इन्डस्ट्रीका तीन लाख बढीको रोजगारी संकटमा, रोेकिएका सूटिङहरु सुचारु गर्ने तयारी

नेपालखोज २०७७ जेठ ९ गते १५:२३

नयाँदिल्ली । लकडाउन अगावैदेखि रोकिएको चलचित्र तथा टेलिशृङ्खलाको छायांकन पुन सुरु गर्न भारतको महाराष्ट्र सरकारले तयारी थालेको छ ।

चलचित्रको छायांकन र रिलिज लामो समय रोकिँदा बलिउड, मराठी चलचित्रका निर्माता तथा कलाकार र दैनिक ज्यालाका चलचित्र क्षेत्रका मजदुरहरू मारमा परिरहेका छन् ।

साथै भारतको अथतन्त्रलाई उचालिरहेको चलचित्र उद्योग पनि करौंडोको घाटामा गइरहेको छ । यी सबै पक्षलाई मध्यनजर गर्दै महाराष्ट्र सरकारले सामाजिक दूरीको नियम पालना गर्दै सीमित रूपमा चलचित्रको छायांकन र पोस्ट–प्रोडक्सनको काम अघि बढाउन दिने योजना बनाएको हो ।

मराठी सिनेमा, टीभी र थिएटर इन्डस्ट्रिजका प्रतिनिधिमण्डलका एक प्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री उद्धव ठाकरेले सरकारले गरिरहेको यस तयारीबारे जानकारी दिएका हुन् ।

मन्त्री ठाकरेले लकडाउनको मतलब सबै काम ठप्प गर्ने नभएको बताएका छन् । फिल्म इन्डस्ट्री ठप्प हुँदा करिब तीन लाखभन्दा बढीको रोजगारी संकटमा परेको छ । धेरैको रोजगारी छुटेको भन्दै उनले प्रोडक्सन हाउसहरूलाई फिल्म सिटीमा भाडामा दिने विचार पनि व्यक्त गरेका छन् ।

छायांकन पुन सुरु गर्न दिए पनि रेडजोन घोषित नभएका स्थानमा विशेष सरसफाइमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । यद्यपि चलचित्र हल पुनः सुरु गर्नेबारे भने अझै केही निर्णय भइसकेको छैन् ।

प्रतिक्रिया