टिनको पाता वितरण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्रका आर्थिक रुपमा विपन्न ९४ घरपरिवारको खरको छाना विस्थापित गरेर टिनको छाना फेरिदिएको छ ।
चालू आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत विपन्नको घरघरबाट खरको छाना हटाएर जस्तापाताले छाना छाउन सहयोग गरेको हो ।
नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ का रुपमा अगाडि बढाएको कार्यक्रमअनुसार बेनपा–३, भकिम्लीमा मात्रै कूल ६१ जना विपन्नको घरपरिवारमा खरको छाना हटाएर टिनको छानाले छाएको वडाध्यक्ष पदमबहादुर पुनले जानकारी दिए । ती मध्ये २१ एकल महिला रहेको छन् ।
वर्षौंदेखि खरको छानामुनि कष्टपूर्ण दिन बिताइरहेका नगरपालिकाअन्तर्गत विभिन्न ठाउँमा रहेका विपन्न घरधुरीमा नगरपालिकाले पूर्ण अनुदानमा जस्तापाता फेरिदिएको हो । छाना जडान भएसँगै राहत मिलेको स्थानीयवासीले बताएका छन् । नगरपालिकामार्फत नमूना योजनाका रुपमा टिनको छाना छाउने कार्यक्रम ल्याएपछि जनता उत्साहित भएको उहाँको भनाइ छ ।
खरले छाएको छानोबाट बर्खायाममा पानी चुहिएर समस्या भोग्दै आएका नगर क्षेत्रभित्रका आठवटा वडामा चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको थियो । नगरपालिकाभित्र करीब एक सय घरधुरीमा खरको छाना हटाएर जस्तापाता उपलब्ध गराउने गरी तथ्याङ्क सङ्कलन गरी जस्तापाताले खरको छाना विस्थापित गरिएको छ । प्रतिव्यक्ति न्यूनतम २० देखि रु ५५ हजारसम्म अनुदान उपलब्ध गराइएको छ ।
प्रतिक्रिया